दर्शक प्रतिक्रियाले दोस्रो सातामा पनि बढ्दैछ ‘महापुरूष’को व्यापार

डिसी नेपाल
२१ कार्तिक २०७९ ११:४०
656
Shares

काठमाडौँ। प्रदर्शनरत फिल्म ‘महापुरूष’ दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरैछन्। कारण, उनीहरूलाई फिल्म मन परिरहेको छ। आफ्नो विश्वस्त व्यक्तिबाट फिल्म राम्रो रहेको जानकारी पाएपछि उनीहरू परिवार नै लिएर हलमा आएका हुन् । यही कारण फिल्म बक्सअफिसमा बलियो सावित भइरहेको छ। फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ।

दोस्रो सातामा दर्शकको अपार साथ् पाइरहेको फिल्मलाई आयोजित ‘विशेष शो’ मा सेलिब्रेटीले हेरेका छन्। कलाकारहरू अर्जुनजंग शाही, करिश्मा मानन्धर, सन्तोष पन्त, रमेश उप्रेती, रीमा विश्वकर्मासहितले फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फिल्म उत्कृष्ट बनेको बताए्।

आफ्नो आमालाई लिएर फिल्म हेर्ने पुगेकी अभिनेत्री रीमाले फिल्म राम्रो बन्नु समग्रमा नै बाध्नु पर्ने बताइन्। ‘पटकथा, प्रस्तुतीकरण र कलाकारहरूको अभिनय तीनै पक्षलाई म फिल्मकर्मीको हिसाबले शतप्रतिशत मार्क्स दिन्छु’, अभिनेत्री विश्वकर्माले भनिन्, ‘मेरो बुवा सानैमा बित्नु भएकोले म एकल आमाको सन्तान हुँ। फिल्म हेरेपछि म सोच्दैछु उहाँ सुखी त हुनुहुन्छ त ? यसविषयमा त हामीले कुराकानी नै गरेका रहेनछौं।’ उनले फिल्म बाको माध्यमले प्रस्तुत गरिए पनि यो बा र आमा दुवैको एक्लोपनको कथा व्यक्त गर्ने बताइन्।

‘कतिपय स्थानमा मलाई सामान्य लागेको दृश्यमा पनि आमा भावनात्मक भइरहनु भएको थियो । किनकि उहाँलाई बढी कनेक्ट गर्यो । त्यसैले आफ्नो बुबा आमाको भावना बुझ्न चाहनुहुन्छ भने यो फिल्मसँगै हेर्नुहोला। उहाँहरूले मनमा कुरा दबाए पनि आँखाले बोल्नेछ’, अभिनेता रीमाले भनिन् ।

हाम्रो समाजमा हामीले वास्ता नगरेको कथालाई आम दर्शकसम्म लागिएको अभिनेत्री करिश्मा मानन्धरले बताइन्। ‘सुखी मात्र नभई सुखी हुनुपर्छ भन्ने सन्देश नै सशक्त छ। बुढ्यौलीमा महसुस हुने एलोपनमा चाहिने साथलाई यसमा सरल रुपमा देखाइएको छ । फिल्म हेर्दा समय र पैसा पूर्ण रुपमा असुल हुन्छ’, अभिनेत्री मानन्धरले भनिन्।

‘महापुरूष’ जस्ता फिल्मले दर्शकलाई मनोरञ्जनसँगै समाजलाई सन्देश पनि दिने अभिनेता सन्तोष पन्तले बताए। ‘दर्शकमार्फत विभिन्न सन्देश समाजमा गइरहेका छन्। यस्ता फिल्म बन्नुपर्छ । यस्ता गम्भीर विषयमा समाजको ध्यान गएको छैन। यस्ता विषयलाई बुझ्ने गरी फिल्मकर्मीले उठान गर्नुपर्छ। महापुरूष यस विषयमा सफल भएको छ’, अभिनेता पन्तले भने।

अभिनेता रमेश उप्रेतीले एउटा उत्कृष्ट फिल्म हेर्ने मौका मिलेको प्रतिक्रया दिए। सेलेब्सझैँ फिल्म हेर्न आइपुगेका दर्शकले पनि राम्रो लागेको र अन्यलाई पनि सिफारिस गर्ने प्रतिक्रिया दिइरहेको निर्माता म्याक्स् दिपेश खत्रीले बताए। ‘एकजना छोरीले आफ्नो एकल आमाको निर्णय बदल्न फिल्म हेराउनु भएको रहेछ। उहाँ अमेरिका बस्ने भएकोले आमालाई एकल जीवन नबिताउन आग्रह गरिरहनु भएको रहेछ । यस्ता धेरै दर्शक हल भिजिटमा भेटका छौँ’, निर्माता खत्रीले भने।

उनले पहिलोसाताको तुलनामा दोस्रो साता दर्शकको चाप बढ्दो रहेको जानकारी दिए। फिल्म अमेरिकामा समेत दर्शकको राम्रो साथ पाइरहेको छ। जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रवीन्द्र सिंह बानियाको निर्माण र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले संयुक्त राज्य अमेरिकामा राम्रो दर्शक पाइरहेको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले जनाएको छ।

अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो। सिनेपोलिस, युलेसमा हाल चलिरहेका १६ अन्य अँग्रेजी र हिन्दी फिल्मको तुलनामा डलासमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरूष’ले बक्स अफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए। ‘नोभेम्बर ४ बाट थप ९ हल थपिँदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ।

नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदैछ। मेरिल्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने। आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्यूयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको समेत उनले बताए। यस्तै, अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गरिरहेको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ। आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ।

षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन्। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *