नयाँ सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छन् ।
निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाएपछि उनी परामर्शमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नसक्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सरकार गठनका लागि दलहरूबीच दौडधुप सुरु हुँदा विभिन्न राजनीतिक दलले विभिन्न संख्यामा सिट संख्या पाएका छन् । यद्यपि एक्लै सरकार बनाउन सक्ने हैसियतमा कुनै दलसँग पनि बहुमत देखिँदैन ।
आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कूल ८९ सिट प्राप्त गरेको छ ।
यस्तै नेकपा एमालेले ७८ सिट पाएको छ भने नेकपा माओवादी केन्द्रले ३२ जितेको छ । नेपालकै कान्छो पाटीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा २० सिट पाएको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना सांसद बनेका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १९१ जनाले निर्वाचित भएका छन् । स्वतन्त्र ५ जना सांसद स्वतन्त्र रूपमा निर्वाचित बनेका छन् ।







डिसी नेपाल








Facebook Comment