चीनबाट जापान आउने यात्रुको कोभिड परीक्षण हुने, पोजेटिभ देखिए क्वारेन्टाइनमा राखिने

डिसी नेपाल
१२ पुष २०७९ १५:२७
24
Shares

काठमाडौं । जापानले कोरोना भाइरसको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन् ।

अबदेखि, चीनबाट यात्रुहरू जापान आइपुगेलगत्तै कोभिडको परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आउने यात्रुलाई सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन्। चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ ।

अर्कोतर्फ, चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार कोभिड–१९ को रोकथामका लागि फाइजरले बनाएको ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइनेछ ।

चिनियाँ अधिकारीहरूले अन्य देशबाट आउने औषधिबाट संक्रमण रोक्न सकिने र यसले आईसीयूमा पर्ने दबाब कम हुने बताएका छन् । चिनियाँ पसलहरूमा प्रायः प्रयोग हुने औषधिको अभाव भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हाल कोभिड–१९ बाट मृत्यु हुनेको बारेमा जानकारी दिएको छैन । चीनमा कोरोना संक्रमणका कारण हरेक दिन हजारौं मानिसको मृत्यु भइरहेको रिपोर्टहरूले दाबी गरेका छन् ।

चीनले सोमबार घोषणा गर्‍यो कि बाहिरबाट आउने यात्रुहरूलाई क्वारेन्टाइन गर्ने निर्णय परिवर्तन गरिएको छ। जनवरी ८ देखि अन्य देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्नु पर्दैन ।

यसलाई चीनको शून्य कोभिड नीतिमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *