नयाँ सरकारले मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास लिएको छुः उपराष्ट्रपति पुन

डिसी नेपाल
१४ पुष २०७९ २३:०९
60
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वससमेत उनले व्यक्त गरे ।

उपराष्ट्रपति पुनले तमु ल्होसारले नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गरे । “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो, यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ, विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन्, हामीमा विविधताबीचको एकता छ, यो नै हामी नेपालीको साझा पहिचान हो”, उपराष्ट्र पुनले भनेका छन् ।

“तमु (गुरुङ) समुदायको सांस्कृतिक चाड तमुल्होसार २०७९ का अवसरमा तमु दिदीबहिनी, दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *