विदेशबाट फर्किएर पशुपालनमा आकर्षित

कृष्ण न्यौपाने/रासस
१९ पुष २०७९ १५:१०
76
Shares

दमौली। मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएका हुन्।

सोह्रवर्ष वैदेशिक रोजगारीमा रहनुभएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहेका छन्। कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहेपनि नेपालमै गएर केही गर्ने सोच राखेर थापा बङ्गुरपालनमा लागेका हुन्।

विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाल लाङघाली कृषि फार्म दर्तागरी बङ्गुरपालनलाई अगाडि बढाएका छन्। थापाले आफ्नै जग्गामा रु १५ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन्। उनी भन्छन्, “कति अर्काको देशमा श्रम बेच्ने, घरपरिवारसँग टाढिएर बस्ने बाध्यतालाई बिट मार्दै दश रोपनी जग्गामा बङ्गुरफार्म सञ्चालन गरेको हूँ।”

डेढ वर्षअगाडि स्थापित फार्ममा अहिले ३३ वटा बङ्गुर छन्। बङ्गुरको स्याहारसुसारमा परिवार नै तल्लिन रहेको थापा बताउँछन्। “विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन आत्मनिर्भर बन्न सकिन्छ, त्यसमाथि परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्ट छु,” उनले भने। तर बङ्गुर बिक्रीका लागि बजारको समस्या रहेको थापाको गुनासो छ।

“आफ्नो मासु बेच्ने पसल नहुँदा बङ्गुरले मूल्य पाउन सकिरहेको छैन, यसतर्फ सम्बन्धित निकायसँग अनुरोध गरेको छु,” थापाले भने। बङ्गुर उत्पादनका लागि कुनै समस्या नभएपछि बजार नहुँदा किसानलाई मार परेको उनको भनाइ छ।

“व्यवसायमा लाखौँ लगानी भएको छ, तर बजार अभाव छ, बङ्गुर कहाँ बेच्ने भन्ने समस्या बढ्दै गइरहेको छ,” उनले भने, “बङ्गुर बिक्रीका लागि बिचौलिया लगाउनुपर्ने बाध्यता छ।” बङ्गुरको पाठापाठी बिक्री गर्ने गरेता पनि अन्य स्थानबाट आयात हुने पाठापाठीसँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको उनको भनाइ छ।

विगतमा प्रति पाठापाठी रु सात हजार पाँच सयमा बिक्री गर्ने गरे पनि अहिले रु छ हजारमा बेच्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। “तीव्र प्रतिस्पर्धा हुने, दानापानीको मूल्य बढ्ने तर बङ्गुरको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता छ,” उनले भने, “गाउँपालिकाले बजारको खोजी गरिदिए सहज हुन्थ्यो।”

म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले रु ६ करोड लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याएका छन्। जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म रु ६ करोड लगानी भएको छ। पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन्। फार्मबाट दैनिक १५ हजार गोटा अण्डा उत्पादन हुँदै आएको छ। फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन्।

व्यवसाय सञ्चालनका क्रममा मासिक रु ३५ लाख खर्च हुँदै आएको छ। १९ हजार कुखुरालाई दैनिक रु एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ। उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ। बाटो राम्रो नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको थापाको भनाइ छ। जिल्लामै दाना उद्योग नहुँदा बाहिर जिल्लाबाट दाना ल्याउनुपर्ने बाध्यता रहेको छ। “चितवन र पोखराबाट कुखुराका लागि दाना ल्याउनुपर्छ, फार्मसम्म ल्याउनका लागि ट्याक्टरको प्रयोग गर्नुपर्छ । त्यसले गर्दा पनि खर्च बढ्छ,” उनले भने।

स्थानीय बजारले अण्डाको उत्पादन धान्न नसक्ने भएपछि यहाँ उत्पादित अण्डा छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ। त्यसका अतिरिक्त चितवन, पोखरा, काठमाडौँसम्म अण्डा निर्यात हुने गरेको सञ्चालक थापाले बताए। अण्डा बिक्रीका लागि बजारको समस्या नरहेको उनी बताउँछन्।

लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन, अण्डा उत्पादनमा सबै ज्ञान प्राप्त भइसकेको उनको भनाइ छ । “लामो समयदेखि यही व्यवसायमा संलग्न भएकाले कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान आफैले गर्न सक्ने भएको छु” उनले भने।

चल्ला हुर्काउन अत्यन्त जोखिम रहेकाले निश्चित तापक्रम दिनुपर्ने हुँदा आफै यसका लागि खट्ने गरेको उनले बताए। फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ। दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि आफै व्यवसायी फार्मसम्म आउने गरेको उनले बताए। “अण्डा बिक्रीका लागि अन्यत्र भौतारिनुपर्दैन, व्यवसाय गरेपछि आम्दानी त हुन्छ नै त्यो भन्दा बढी स्वदेशमै बसेर व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ,” उनले भने।

म्याग्दे गाउँपालिका–४ का समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन्। बैंकबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए। असिम भैँसीफार्मका सञ्चालक श्रेष्ठले मासिक रु ५० हजार बचत गर्दै आएका छन्। श्रेष्ठले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहेका छन्। प्रति भैँसी रु दुई लाख ५० हजारका दरले छ वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका उनले भने,“विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ।”

आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने भन्दै श्रेष्ठले देशमै केही गरौँ भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताए। “स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैँसीपालनलाई अगाडि बढाएको छु,” श्रेष्ठले भने। उनको फार्ममा अहिले १३ वटा भैँसी छन्।

भैँसीका लागि आवश्यक घाँसका लागि श्रेष्ठले जग्गा भाडामा लिएका छन्। उनका अनुसार हालसम्म करिब रु ३० लाख लगानी भएको छ। भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ। दूध बिक्रीका लागि बजारको समस्या नरहेको श्रेष्ठ बताउँछन्।

“दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,” श्रेष्ठ भन्छन्, “स्थानीय थर्पु बजार तथा आसपासमा दूध बिक्री भइरहेको छ।” बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा खुसी लागेको उनले बताए। मासिक रु ५० हजार बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउँछन्। “सबै खर्च कटाएर मासिक रु ५० हजार कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,” उनले भने, “व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु।”

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा विदेश नगइ स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए। “युवा उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,” उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *