ओडिशामा १५ दिनभित्र रुसका तेस्रो व्यक्तिको रहस्यमय मृत्यु

डिसी नेपाल
१९ पुष २०७९ १६:१४
64
Shares

काठमाडौं । भारतको तटीय राज्य ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ । पछिल्लो १५ दिनमा ओडिशामा मृत्यु हुने यो रुसको तेस्रो नागरिक हो । प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

यसअघि पनि सांसदसहित दुई जनाको मृत्युमा पनि ‘रहस्यको घेरा’ छ । ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान मिल्याकोभ सर्गेई भएको छ।

जगतसिंहपुर जिल्लाको पारद्वीप बन्दरगाहमा उभिएको जहाजमा उक्त व्यक्तिको शव फेला परेको हो । ५१ वर्षीय सर्गेई एमबी अलादनाह जहाजका प्रमुख इन्जिनियर थिए।

यो जहाज मुम्बईबाट पारादीप बन्दरगाह हुँदै बंगलादेशको चटगाउँ बन्दरगाह जाँदै थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्गेई बिहान ४:३० बजे आफ्नो चेम्बरमा मृत फेला परेका थिए । सर्गेईको मृत्युको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

रुसी इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै पारादीप पोर्ट ट्रष्टका अध्यक्ष पीएल हरानन्दले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यसअघि डिसेम्बरको अन्तिम दिनमा ओडिशाको रायगडा सहरमा दुई रुसी पर्यटकको रहस्यमय मृत्यु भएको थियो ।

यी व्यक्तिहरूमध्ये एक सांसद पावेल एन्टोनोभ (६५ वर्ष) थिए, जो रुसी राष्ट्रपति पुटिनको आलोचक मानिन्छन्। डिसेम्बर २४ मा होटलको तेस्रो तल्लाबाट खसेर उनको मृत्यु भएको थियो ।

पावेल एन्टोनोभको मृत्यु हुनुभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको २२ डिसेम्बरमा मृत्यु भएको थियो। ओडिशा प्रहरीले यी दुवै घटनाको अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *