रामचन्द्र अझै थाकेनन्, रविलाई अघि सार्ने अर्को तानाबाना

विजयप्रसाद मिश्र
२० पुष २०७९ ८:३३

काठमाडौं। नेपाली कांग्रेसभित्र पदाधिकारी स्तरमै कारवाहीको विगुल फुक्न थालिरहेको बेला मंगलबार रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउने इच्छा जाहेर गरेका छन्।

पाँच दलीय गठबन्धन टुटेर एमालेलगायत दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भइसक्दा पनि पौडेललाई अझै राष्ट्रपति बन्ने लालसा कायमै रहेको अनुमान लगाउन सकिन्छ। सोमबार राति थकित मुडमा प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेलसँग भलाकुसारी गरेको स्रोतले जनाएको छ।

उक्त भलाकुसारीमा अहिलेको गठबन्धनको केमेस्ट्री प्रचण्डलाई मन नपरेकोले नयाँ केही गर्ने हो कि भन्ने तर्फ प्रधानमन्त्री उन्मुख भएको बताइन्छ।

यसले पुस २६ गते प्रचण्डले विश्वासको मत लिँदा नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टीलगायत सबैले सहमति जुटाई दिएर यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने हो कि भन्ने नयाँ तुरुप प्रचण्डको डिजाइनमा रामचन्द्र पौडेलले फालेको राजनीतिक बुझाइ छ।

रामचन्द्र पौडेलले गठबन्धन एकाएक हाइज्याकमा परेको र सत्ता भन्दा व्यवस्था नै सकिने डर रहेकोले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास थालेको देखिन्छ।

पाँच दलीय गठबन्धनले समेत बारम्बार भन्ने गरेको संविधान र व्यवस्थाको संरक्षणका लागि गठबन्धन आवश्यक भन्ने थियो। अहिले त्यो ज्यूँका त्यूँ छ। अर्थात् स्वयं प्रचण्ड प्रधानमन्त्री भएको धेरै दिन भएको छैन।

उनले विश्वासको मत पनि पुस २६ गते लिने भनेका छन्। तर पनि त्यसवेला के हो के हो? भन्ने त्रास उनलाई अहिले पनि कायमै छ। आफ्नो प्रधानमन्त्रीको पद सुरक्षित राख्ने र एमालेलाई भन्दा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सकियो भने एमालेको हालीमुहाली नियन्त्रण गर्न सकिन्छ भन्ने सोचाइ प्रचण्डमा आएको हुनसक्छ।

नेपाली कांग्रेसले पुस २६ गते प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतका बेला राष्ट्रिय सहमतिको सरकारको रुपमा यसलाई रुपान्तरण गर्नका लागि विश्वासको मत दिन सक्दछ।

यो सम्भव छ र यसका लागि रामचन्द्र पौडेललाई पहल गर्न प्रचण्डले अनुरोध गरेका हुन भने त्यसकै शुरुबात पौडेलको अभिव्यक्ति हो भन्ने अनुमान गर्न सहज छ। प्रचण्डले गृहमन्त्रीमा रवि लामिछानेलाई स्वीकार्नु उनको बाध्यता हो।

नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीलाई एकातर्फ ल्याउन सकियो भने नत राप्रपाको दवावमा पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती बनाउन सार्वजनिक विदा दिनु पर्ने हुन्छ नत रविलाई गृहमन्त्री मै राखिराख्नु पर्ने हुन्छ भन्ने मनस्थिति प्रचण्डले बनाएर अघि बढेको देखिन्छ।

पुस २४ गते भित्र पाँचदलीय गठबन्धनको पुर्नजागरण भयो भने नेपालको राजनीतिमा नयाँ चमत्कार हुन्छ। अहिलेको टू प्लस वनको आधारमा भारत र चीनसँग मिलेर बनाएको सरकार भनेर आरोप लागि राख्दा यूरोप र अमेरिकाको असहयोग भएमा माओवादी केन्द्र पार्टी दुर्घटनामा पर्न सक्छ त्यसैले पुरानै समिकरणलाई अगाडि बढाउन सके प्रचण्डको प्रधानमन्त्रीको पद अढाई वर्ष वा पाँचैबर्ष समेत जान सक्दछ भन्ने लोभ फेरि प्रचण्डमा जागृत गराउन कांग्रेसजनहरु सक्रिय छन्।

तर नेकपा एमालेले बजेट भाषणसम्ममा आफ्नो पार्टीमा अन्य पार्टी र स्वतन्त्र विजयी भएकाहरुलाई समावेश गरी ९० सिट पुर्‍याएर संसदमा सबैभन्दा ठूलो दलबन्ने र प्रचण्डको सरकारलाई धरापमा पारेर संविधानको धारा ७६ को (३) को आधारमा सबैभन्दा बढी सांसद भएको पार्टीको संसदीय दलको नेताको हैसियतले पाँच छ महिना पछि नै केपी ओली प्रधानमन्त्री बन्न जोड घटाऊ गरिरहेका छन् भन्ने विश्लेषणमा कांग्रेस नेतृत्व निकै लागेको छ।

यसको शुरुवात मंगलबार नै रौतहटका किरण साहलाई एमालेमा प्रवेश गराएर आफ्नो सिट ७९ पुर्‍याएका छन् भन्ने तर्कका साथ गरिएको छ।

एकीकृत समाजवादीलाई विभिन्न प्रलोभनमा एमालेमा एकीकरण गराउन सकियो भने १० सिट थपिने र मोरङकाे क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले स्वतन्त्रमा जीतेकाले उनलाई एमाले प्रवेश गराएर ९० सिट बनाउने र सबैभन्दा ठूलो दल बन्ने सपनालाई पनि केपी ओलीले विकल्पका रुपमा संगसंगै लगि रहेका छन् भन्ने त्रास देखाइएको भए पनि एकीकृत समाजवादीका नेता माधव नेपालले यसलाई अस्वीकार गरिसकेको अवस्था छ।

भारतलाई शेरबहादुर देउवा प्रधानमन्त्री बनाइएमा नेकपा माओवादीबाट प्रो. चाइनिजले राष्ट्रपति पद हत्याउने आशंकाका कारण राष्ट्रपति प्रोइण्डियन बनाउनका लागि अहिलेको एमाले माओवादी केन्द्रको घोड मिलानलाई भारतले स्वीकार गरेको देखिएको छ।

प्रोचाइनिज राष्ट्रपति नभएर रामचन्द्र पौडेल हुने सवालमा भारतले टू प्लस वनको रणनीतिमा नयाँ टुइस्ट ल्याउन सक्ने सम्भावनाहरु उत्तिकै बलियो छ। भारत दाहिना हुँदा प्रचण्ड समेत सुरक्षित हुने भएकाले जुन उद्देश्यले नेकपा फुटाइएको थियो त्यसलाई सार्थक बनाउनकै लागि पनि प्रचण्डको सरकारलाई एमालेले मानेमा राष्ट्रिय सहमतिको सरकार नमाने पुरानो गठबन्धनको सरकार बनाएर रामचन्द्र पौडेललाई नै भावी राष्ट्रपतिको ताज पहिराउने हो कि भन्ने झिनो आशामा कांग्रेसजनहरु देखिएका छन्।

हुन त डा. रामवरण यादव राष्ट्रपतिको उम्मेदवार हुँदा समेत उहाँ जीत्ने पक्का थिएन। तर भारत दाहिना भएकाले उहाँले जीत्नु भयो। यसपटक पनि एमालेको पोल्टामा परेको राष्ट्रपतिको पद उसले प्रो क्रिश्चियन वा प्रो चाइनिजलाई राष्ट्रपतिको उम्मेदवार बनायो भने भारतले चलखेल गरेर प्रो भारतीय वा हिन्दुधर्मको पक्षधर कसैलाई राष्ट्रपतिमा उठाउन नेपाली कांग्रेसलाई दवाव दिएर जीताइदिन समेत सक्दछ।

यसमा सबैभन्दा सम्भावना बोकेका रामचन्द्र पौडेल नै छन्। कांग्रेसको कोही उठ्न मानेनन् भने महन्थ ठाकुर वा डा. बाबुराम भट्राईलाई उठाएर भएपनि भारतले चलखेल गर्न सक्दछ। राष्ट्रपति चयन गरीसकेपछि प्रचण्डको पद धरापमा त पर्छ नै। यो कुरा प्रचण्डले नबुझेका होइनन्।

त्यसैले उनले रामचन्द्र पौडेललाई सोमबार आफ्नो बाध्यता र लाचारी सुनाएर राष्ट्रिय सहमतिको सरकार भनेर गयौं भने तपाईलाई राष्ट्रपति बनाउन पैरवी गर्न सहज हुन्छ भनेका हुन सक्छन्। तर यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाको धारणा के आउँछ त्यो हेर्न बाँकी छ। ताल परेमा चीन नेपाली कांग्रेसलाई फुटाउन नै चाहन्छ ।

त्यसका लागि केही गरी अहिलेको सरकारले पार्टी फुट्न २० संसदीय दलको २० प्रतिसत वा पार्टीको २० प्रतिशत मध्ये कुनै एकमात्र पुरा गरेपनि फुटाउन सकिन्छ भनेर विधयेक पारित गरिदियो भने नेपाली कांग्रेसभित्र पनि चाइनिज चलखेल बढ्ने देखिएको छ।

यी सबै परिघटनाले प्रचण्ड समयमै सचेत भएर कांग्रेसलाई हरियो बत्ति बालेका हुन या केपी ओलीबाट हुनसक्ने असहयोगको शिकार हुनु अघि नै आफ्नो प्रधानमन्त्री पद सुरक्षित राख्न राष्ट्रिय सहमतिको सरकारको बहानामा आफ्नो पद जोगाउने लक्ष्य लिएका हुन्? य

ही साता त्यसबारेमा नयाँ राजनीतिक परिघटना तयार हुन सक्दछ। संविधान जोगाउने, धर्म निरपेक्षतालाई यथावत राख्ने र संघीयता खारेज हुन नदिने नै प्रचण्डको भित्री मनसाय हो भने नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, चित्रबहादुर केसी र अमरेश सिंह समेतसँग सहयोग लिएर पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाटोलाई नयाँदिशा तर्फ मोडाउन खोजे अन्यथा नमाने हुने भएको छ।

अब प्रचण्ड प्रधानमन्त्री पदको दिनगन्ती गरेर बसिराख्ने हो कि कांग्रेस, एकीकृत समाजवादीलाई आफ्नो बाध्यता देखाएर नयाँ धार पक्रिने हो, त्यो उहाँकै तजविजमा छोडिदिनु पर्दछ भन्दै प्रचण्डलाई तर्साउने कांग्रेसीहरुले रवि लामिछानेलाई बरु प्रधानमन्त्रीका रुपमा अघि सारेर भए पनि यो गठबन्धन तोड्ने खेलमा पनि सक्रियता देखाएको बताइन्छ।

सभामुख र राष्टपति दुबै पद एमालेले लगे भविष्यमा मुस्किल आइलाग्ने भन्दै भारतको समेत सहयोगमा रबीलाई प्रधानमन्त्री बनाएर एमाले र प्रचण्ड दुबैलाई सत्तावाहिर पार्ने खेलोमा कांग्रेसका शीर्ष नेताहरु लागेको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *