बोल्सेनारो समर्थकको संसद प्रवेशले अमेरिकाको क्यापिटल हिंसा सम्झायो, के भन्छन् अमेरिकी राष्ट्रपति ?
काठमाडौं । दक्षिणपन्थी नेता जैर बोल्सोनारोका हजारौं समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन् । जनताले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन् ।
ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए । केही व्यक्तिहरू सभामुखको मञ्चमा चढेर प्रदर्शन गरिरहेका देखिए।
केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा तोडेका थिए । भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो । राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन् ।
ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ । त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
I condemn the assault on democracy and on the peaceful transfer of power in Brazil. Brazil’s democratic institutions have our full support and the will of the Brazilian people must not be undermined. I look forward to continuing to work with @LulaOficial.
— President Biden (@POTUS) January 8, 2023
अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै ठूला व्यक्तित्वले हिंसाको निन्दा गरेका छन् ।
गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन् ।
यसअघि लुला दा सिल्भाले ट्वीट गर्दै भनेका थिए, “हामी सरकार गठनमा व्यस्त छौं र आइतवार उनीहरूले हाम्रो मौनताको फाइदा उठाए र तपाइँलाई थाहा छ कि पूर्व राष्ट्रपतिका धेरै भाषणहरूले यो गर्न उत्प्रेरित गरे। यो उहाँको पार्टी र उहाँको जिम्मेवारी हो।”
देशका न्याय मन्त्री फ्लाभियो डिनोले स्थानीय मिडियालाई भने कि अहिलेसम्म २०० जनालाई पक्राउ गरिएको छ।
बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गर्दै आएका छन् । उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् ।
तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन् । बोल्सोनारो हाल अमेरिकामा छन् ।







डिसी नेपाल







Facebook Comment