विमान दुर्घटनाः २ जनाको शव अझै भेटिएन, सदाकत अलिमियाको शव परिवारले बुझे
गण्डकी। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ। सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका हुन्।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरु गरिएको थियो। बाँकी शवको परीक्षण भइरहेकाले मङ्गलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ। विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ।
ती शवलाई हेलिकप्टरमार्फत मङ्गलबार काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ।
शव बुझ्न अस्पताल परिसरमा बिहानैदेखि मृतकका आफन्त जम्मा भएका थिए। शव हस्तान्तरणमा अस्पतालले ढिलाइ गरेको भन्दै कतिपयले गुनासोसमेत गरिरहेका थिए। शव परीक्षणको प्रक्रियाले समय लिएपछि परिवारले बेलैमा शव बुझ्न नपाएका हुन्।
पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ। विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।
आज (सोमबार) दिनभर भएको खोजीमा पनि शव फेला नपरेपछि भोली बिहान पुनः खोजी गरिने भएको छ। सोमबार बिहानैदेखि खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायतका उद्धारकर्ताले खुट्टा, एउटा हात र करङ फेला पारेपनि त्यो एउटै व्यक्ति वा फरक व्यक्तिको हो भन्ने पहिचान भएको छैन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment