गफ नगरौँ, इमान्दार भएर काम गरौँः धनराज गुरुङ

डिसी नेपाल
२२ माघ २०७९ १४:३८

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए।

“नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ”, उनले भने, “देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ । दृष्टिकोणसहितको नेताको अभावले जनताले दुःख पाइरहेका छन् ।”

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए । “तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन”, उनले भने।

छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत मुलुकले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताए । अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उहाँले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको प्रष्ट्याए ।

“राजस्वले चालु खर्च धान्न सकेको छैन । विदेशी मुद्रा सञ्चिती घटिरहेको छ । हामीले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह ग¥यौँ”, उनले भने, “आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर हामीले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *