नेपाल हिन्दू राष्ट्र हुनुपर्छः शशाङ्क कोइराला
नवलपुर। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन्। उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आज नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए।
उनले भने, “जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ।” नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासन दिए।
श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन्।
आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए।
उनका अनुसार हालसम्म महायज्ञमा रु एक करोड २० लाख सङ्कलन भएको छ। महायज्ञस्थलमा रु १६ करोड बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत गरिएको छ।







डिसी नेपाल








Facebook Comment