सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ चैत २४ मा रिलिज हुँदै

डिसी नेपाल
११ फागुन २०७९ १३:२१
100
Shares

काठमाडौँ। आगामी चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ। फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ।

भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट प्रमोद ‘बहाव’बाट उत्साहित छन्। प्रमोदले फिल्ममा पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरेको बताए।

‘फिल्मले एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरेको छ। हामीले चितवनको मध्यम परिवारको कथालाई देखाएका छौं। यो कथाले चितवन मात्र नभई समग्र नेपाल बोल्छ। फिल्ममा दर्शकले एउटा परिवारमा हरेक दिन खाना खाने समयमा हुने सामाजिक, आर्थिक, राजनीति विषयमा हुने वैचारिक छलफलको भिन्नतालाई देखाइएको छ’, उनले भने।

उनका अनुसार फिल्मले प्राचीन समयदेखि चलिएको परम्परालाई निरन्तरता दिने कि नयाँ विचारलाई प्रयोग गर्ने भन्ने विषयमा बाबुछोरीको अन्तरद्वन्द्वलाई देखाएको छ। फिल्ममा सुरक्षाले सन्ध्या रेग्मी र अभिनेता कमलमणि नेपालले केदार रेग्मीको भूमिका निर्वाह गरेका छन्।

फिल्ममा सुरक्षालाई चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा माइक्रो बायोलोजी पढ्दै गरेकी २४ वर्षकी युवतीका रुपमा देखाइएको छ। ‘सुरक्षाले विद्यार्थी राजनीतिलाई नजिकबाट बुझ्दै ‘लेफ्ट’ विचारधाराको विकास गर्दै लगेकी छन्। ऊ आफन्त, छरछिमेक र समाजमा एउटा अनुशासित इमान्दार जिम्मेवारी केटीको रुपमा देखिए पनि उनको भित्री इच्छा फरक किसिमको छ। त्यही इच्छा अनुरुप ऊ समाजका नियम तोड्नु पर्ने प्रयासमा छे’, प्रमोद भन्छन्।

सुरक्षाको पिताको भूमिकामा देखिएका अभिनेता कमल अर्थात् केदारले भारतको बनारसबाट आफ्नो विद्यार्थी जिवन पुरा गरेका हुन्छन्। संस्कृतमै श्लोक भन्न खप्पिस केदारमाथि बुवाको निधन पछि घर सम्हाल्ने जिम्मेवारी आइलाग्छ।

‘व्यवहार सम्हाल्नकै लागि केदार आफ्ना छोराछोरी भाई(गोपाल रेग्मी)लाई जिम्मा लगाएर श्रीमतिसँग जापान जान्छ। त्यहाँ १५ वर्ष बसेपछि परिवारसँग बस्न नेपाल फर्किन्छ’, प्रमोद कमलमणिको भूमिका प्रष्ट्याउँछन्, ‘घरगाउँमा छोरीको प्रशंसा सुन्दा केदार खुशी हुन्छन्। तर केदारको मन जति कमलो भए पनि व्यवहारमा उनी कडा छन्। त्यहीकारण छोराछोरीको गल्ती लुकाउन तयार हुने केदार समाजको नियमसँग डराउँछन्।’

निर्देशक कँडेल नेपालले आफ्नै कथा खोज्नुपर्ने बताउँछन्। ‘त्यही कुरालाई हामीले फिल्ममा प्रयोग गरेका छौं। विदेशी फिल्मका सट छोडेर आफ्नै खालका सट प्रयोगको सुरु गरेको छौं। फ्रेम बनाउँदा हामीले क्यारेक्टरअनुसार फ्रेमको डिजाइन गरेका छौं। फिल्ममा हामीले सन्ध्यालाई देब्रे फ्रेममा र केदारलाई दाहिने फ्रेममा राखेको छौं’, प्रमोद भन्छन्, ‘फ्रेम बाट पनि कथा बनेको छ। दुवैको सम्बन्ध राम्रो हुँदा फ्रेमको मध्यविन्दुमा पात्रलाई नजिक ल्याउछौं। द्वन्द्व बढ्दै गएपछि फ्रेमका पात्र टाढिँदै गएको देखाएका छौं । यो फिल्म निर्माण गर्दा हामीले पूर्ण रुपमा फ्रेम कम्पोजिसन सिद्धान्तलाई तोडेर पात्र फ्रेम निर्माण गरेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.