११ वर्षसम्म बोल्न र १८ वर्षसम्म पढ्न लेख्न सकेनन्, त्यसपछि यसरी बने क्याम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर
काठमाडौं । जेसन अर्डे आज ३७ वर्षका भइसकेका छन् । जब उनी तीन वर्षको थिए उनले थाहा पाए कि उनी अटिजम स्पेक्ट्रम डिसअर्डरबाट पीडित छन्। यो रोगबाट पीडित व्यक्तिको मस्तिष्कले फरक तरिकाले काम गर्छ। फलस्वरूप, अर्डेले ११ वर्षको उमेरसम्म बोल्न पनि सकेनन्। यति मात्र होइन, १८ वर्षको हुँदा पनि उनले न लेख्न सक्थे, न पढ्न । तर आज जेसन अर्डे क्याम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर बनेका छन् ।
बेलायती समाचार वेबसाइट द गार्डियनका अनुसार अर्डेले ६ मार्चमा क्याम्ब्रिज विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापकको पदभार ग्रहण गर्नेछन्। अर्डे क्याम्ब्रिज विश्वविद्यालयमा नियुक्त हुने सबैभन्दा कान्छो अश्वेत प्रोफेसर हुनेछन्। अर्डेले यसअघि डरहम र ग्लासगो विश्वविद्यालयहरूमा काम गरिसकेका छन्। अहिले क्याम्ब्रिज विश्वविद्यालयमा पाँचजना अश्वेत प्राध्यापक छन् । क्याम्ब्रिज विश्वविद्यालय विश्वको तेस्रो पुरानो विश्वविद्यालय हो, जुन सन् १२०९ मा स्थापित भएको थियो। हाल यो विश्वको दोस्रो उत्कृष्ट विश्वविद्यालय हो।
बीबीसीसँग कुरा गर्दै जेसन अर्डेले भने, ‘म कसरी विपन्न वर्गका लागि बढीभन्दा बढी ढोका खोल्न र उच्च शिक्षालाई साँच्चिकै लोकतान्त्रिक बनाउने भन्नेमा केन्द्रित छु ।’ उनले क्याम्ब्रिजजस्तो विश्वविद्यालयमा बस्दा राष्ट्रिय तथा विश्व स्तरमा आफ्नो एजेन्डालाई अगाडि बढाउन मद्दत पुग्ने बताए । अर्डे भन्छन्, ‘बोल्नु एउटा कुरा हो र काम गर्नु अर्को कुरा हो।’
द गार्डियनको रिपोर्टका अनुसार जेसन अर्डेको जन्म दक्षिण लन्डनको क्लाफममा भएको थियो। उनको बाल्यकाल पनि यहीँ बित्यो । अर्डे तीन वर्षको हुँदा, उनी अटिजम डिसअर्डरबाट पीडित भएको पत्ता लाग्यो। ११ वर्षको उमेरसम्म अर्डेले केही बोल्न पनि सकेनन् । उनी सांकेतिक भाषामा कुरा गर्थे । रिपोर्टका अनुसार उनको परिवारलाई अर्डे जीवनभर यस्तै रहिरहने भनिएको थियो तर उनले सबैलाई गलत साबित गरे।
अटिजमका कारण १८ वर्षको उमेरसम्म अर्डेले पढ्न र लेख्न पनि सकेनन् । आठ वर्षअघिसम्म अर्डे बेलायतको एउटा सुपरमार्केटमा पार्टटाइम काम गर्थे । आज अर्डेसँग धेरै डिग्री छ। उनले युनिभर्सिटी अफ सरेबाट स्नातक डिग्री हासिल गरे। यसपछि उनले सेन्ट मेरी युनिभर्सिटीबाट शिक्षामा एमए गरे । लिभरपुल जोन मूर युनिभर्सिटीबाट एम.डी पढे र यहाँबाट डक्टरेटको डिग्री पनि हासिल गरे। अर्डेले धेरै पुस्तकहरू पनि लेखेका छन्।
द गार्डियनले आफ्नो रिपोर्टमा १० वर्षअघि आर्डेले आफ्नी आमाको सुत्ने कोठाको भित्तामा पोस्टर लगाएको बताएको छ । जसमा उनले आफ्नो जीवनको लक्ष्य लेखेका थिए । यो सूचीमा तेस्रो नम्बरमा लेखिएको थियो, ‘एक दिन म अक्सफोर्ड वा क्याम्ब्रिजमा काम गर्नेछु’।
अर्डेको सपना मार्च ६ मा वास्तविकतामा परिणत हुनेछ। उनको कथाको सार भनेको ‘जे पनि सम्भव छ’ हो। अर्डे भन्छन्, ‘मसँग धेरै प्रतिभा छैन भन्ने मलाई थाहा थियो । तर म कति जोशका साथ केही चाहन्छु र त्यसका लागि म कति मेहनत गर्न चाहन्छु भन्ने थाहा थियो।’
२०१८ मा प्रोफेसर अर्डेको पहिलो पेपर प्रकाशित भएको थियो। डरहम युनिभर्सिटीमा प्रोफेसर हुनुअघि उनी रोहेम्प्टन युनिभर्सिटीको समाजशास्त्र विभागमा एसोसिएट प्रोफेसर थिए। २०२१ मा, उनी ग्लासगो विश्वविद्यालयमा प्रोफेसर भए। त्यतिबेला अर्डे पूरै बेलायतमा सबैभन्दा कान्छो प्रोफेसर थिए। अर्डे भन्छन्, ‘कसैले मलाई भन्यो – तपाईं यो गर्न सक्नुहुन्छ। मलाई लाग्छ कि हामी संसारको सामना गर्न सक्छौं र जित्न सक्छौं।
अर्डे भन्छन्, ‘पछाडि फर्केर हेर्दा मैले आफैंमा विश्वास गरेको पहिलो पटक हो। धेरै शिक्षाविद्हरूले यो काममा धेरै ठक्कर खानुपर्छ भन्थे, तर त्यतिबेला मेरो ध्यान केन्द्रित थियो । मेरो लक्ष्य के हो मलाई थाहा थियो।’ प्रोफेसर अर्डे दिनमा व्याख्यान दिन्थे। उनी साँझ र रातहरू आफ्नो शैक्षिक पत्रहरू तयार गर्न र समाजशास्त्र अध्ययनमा बिताउने गर्थे।







डिसी नेपाल







Facebook Comment