पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणमा कम्तीमा नौ प्रहरीको मृत्यु

डिसी नेपाल
२२ फागुन २०७९ १३:२७
16
Shares

काठमाडौं । पाकिस्तानका अधिकारीहरूले देशको दक्षिणपश्चिममा भएको आत्मघाती आक्रमणमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको बताएका छन्।

यो घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दू सेवाको रिपोर्ट अनुसार यस घटनामा थप १० जना घाइते भएका छन् ।

एक अधिकारीले भने कि क्याम्ब्री ब्रिजमा एक मोटरसाइकलले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई ठक्कर दिएको थियो। गाडीमा सवार सुरक्षाकर्मीहरु आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी सिबीबाट क्वेटा फर्किरहेका थिए ।

अधिकारीहरूका अनुसार, “गाडीमा आत्मघाती हमलाको सम्भावनालाई नकार्न सकिँदैन।”

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको बम विष्फोटको निन्दा गर्नुका साथै यसलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन् ।

आफ्नो विज्ञप्तिमा उनले बलुचिस्तानलाई अशान्ति र अस्थिरता सृजना गरी पिछडिएको अवस्थामै राख्ने षड्यन्त्र रचिएको बताएका छन् । यस्ता सबै षड्यन्त्रलाई जनताको सहयोगले असफल बनाइने उनले बताए ।

पाकिस्तानमा विगतमा सुरक्षा बललाई निशाना बनाएर धेरै आक्रमण भएका छन् । पछिल्लो आक्रमणको जिम्मेवारी कसले लियो भन्ने स्पष्ट भएको छैन । यस क्षेत्रमा लामो समयदेखि पृथकतावादीहरू सरकारविरुद्ध लडिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *