महिलाले आफ्ना पाँच सन्तानको घाँटी रेटिन्, आफैंमाथि आक्रमण गरिन् अनि यस्तो सजाय मागिन् !

डिसी नेपाल
२३ फागुन २०७९ १५:४८
808
Shares

काठमाडौं । बेल्जियमकी एक महिलालाई इच्चामृत्यु दिइएको छ । वर्षौंअघि यी महिलाको एक कार्यले सारा संसारलाई स्तब्ध बनाएको थियो । उनले आफ्ना पाँच साना छोराछोरीको घाँटी रेटेर हत्या गरेकी थिइन् । बालबालिकाको हत्या भएको १६ वर्षपछि महिलाको आग्रहमा उनलाई मृत्यु दिइएको हो ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार २८ फेब्रुअरी २००७ मा, ५६ वर्षीय जेनेभिएव लेर्मिटले तीन र १४ वर्षका बीचका आफ्ना पाँच बच्चाहरूको हत्या गरिन् । उनका एक छोरा र चार छोरी थिए । लेर्मिट आफ्नो बुबाको घरमा बस्दै आएकी थिइन् र घटनाको समयमा उनका बुबा घरमा थिएनन्।

मानसिक रोगबाट पीडित लेर्मिटले तरकारी काट्ने चक्कुले बालबालिकाको घाँटी काटेर आफूले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । तर धेरै चोट लाग्दा पनि उनको मृत्यु हुन नसकेपछि आकस्मिक सेवामा फोन गरिन् ।

यस जघन्य अपराधमा लेर्मिटलाई सन् २००८ मा आजीवन कारावासको सजाय सुनाइएको थियो । उनका वकिलहरूले उनका ग्राहक मानसिक रूपमा विचलित भएको र मनोचिकित्सकसँग नियमित सम्पर्कमा रहेको त्यसैले उनलाई जेल हाल्नु हुदैन भन्ने तर्क गरे। ।

तर, निर्णायक मण्डलले लेर्मिटलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो। २०१० मा, लेर्मिटले पनि आफ्नो पूर्व मनोचिकित्सक विरुद्ध एक नागरिक मुद्दा दायर गरिन् । मनोचिकित्सकको लापरवाहीका कारण उनको मानसिक अवस्थामा सुधार नभएकाले छोराछोरीको हत्या गरेको लेर्मिटको तर्फबाट भनिएको थियो ।

यसका लागि उनले ३० लाख युरो क्षतिपूर्ति माग गरेकी थिइन् । यो कानुनी लडाई १० वर्षसम्म चल्यो जसमा लेर्मिटले पराजय भोग्नुपरेको थियो ।

जेलमा उनको सजायको समयमा, लेर्मिटले मानसिक समस्यासंग संघर्ष जारी राखिन् यसैलाई ध्यानमा राख्दै सन् २०१९ मा उनलाई मानसिक रोगको उपचारका लागि अस्पताल पठाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनका वकिल निकोलस कोहेनले आफ्ना बालबालिकाको हत्या भएको सोह्रौँ वर्षगाँठमा आफ्ना ग्राहकले इच्छामृत्युको माग गरेको बताएका छन्। लेर्मिटको यो इच्छा पूरा भएर मंगलबार उनको मृत्यु भयो ।

बेल्जियमको कानूनले मानिसहरूलाई इच्छामृत्यु छनौट गर्न अनुमति दिन्छ। कानुनअनुसार कुनै व्यक्तिलाई असह्य मनोवैज्ञानिक पीडा भएमा, जुन निको हुन नसक्ने भएमा उसलाई मृत्युदण्ड दिन सकिन्छ । तर, यसका लागि व्यक्तिले आफ्नो इच्छामृत्युको इच्छा तर्कसंगत र सुसंगत ढंगले व्यक्त गर्न सक्नुपर्छ ।

मनोवैज्ञानिक एमिली मारोइटले बताइन् कि लेर्मिटले आफ्ना बच्चाहरूको सम्मानमा एक प्रतीकात्मक इशारामा फेब्रुअरी २८ मा मर्ने निर्णय गरिन्। मारोइटले भनिन्, ‘आफूले सुरु गरेको कुरा पूरा गर्न चाहेको पनि हुन सक्छ । किनभने मूलतः उनी आफ्ना छोराछोरीसहित आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् तर पहिले उनले त्यसो गर्न सकिनन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *