सङ्कटमा परेका वन्यजन्तुको उद्धार

डिसी नेपाल
५ वैशाख २०८० १३:५९
44
Shares

जानकी। बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ।

आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजना अधिकृत गणेश खड्काले बताए। उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएकोे उहाँको भनाइ थियोे।

योजना अधिकृत गणेश खड्काकानुसार उद्धार गरिएकामा सबैभन्दा बढी सर्प प्रजातिका २०सर्पलाई उद्धार गरिएको छ। तीमध्ये दस गोमन सर्प, दुई रसेल भाइपर, एक करेत र एक धामन सर्प छन्।

यस्तै छ वटा अजिङ्गरलाई पनि उद्धार गरिएको थियो। ती अजिङ्गरमध्ये तीन वटा कम्दी वन क्षेत्र, दुई वटा डुडुवाकै हजरत सामुदायिक वन र एउटालाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको थियो।

वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज–१९ को बनियागाउँ, खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट चार गोहीलाई उद्धार गरिएकामा तीन वटालाई बाँकेको राप्ती नदीमा र एउटालाई बबई नदीमा छोडिएको थियो।

उद्धार गरिएको एउटा चितुवाको बच्चाको मृत्यु भएको थियो भने घाइते रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको थियो। अन्य वन्यजन्तुलाई बाँके र बर्दियाका सुरक्षित क्षेत्रमा छाडिएको योजना अधिकृत खड्काले बताए। उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि ३० सङ्कटमा परेका वन्यजन्तुलाई उद्धार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *