गुल्मीमा तीन महिनामा ५१ स्थानमा आगलागीका घटना, चार जनाको मृत्यु

डिसी नेपाल
९ वैशाख २०८० २१:४८
48
Shares

काठमाडौं । गुल्मी जिल्लामा मात्रै तीन महिनामा ५१ स्थानमा आगलागीका घटनामा परि चार जनाको मृत्यु भएको छ ।

पछिल्लो समय गत बिहीबारदेखि लागेको आगोमा परि घाईते भएका धुर्कोट गाउँपालिका वडा नम्बर–३ का धनबहादुर जोगी कुँवरको शनिवार बिहान मृत्यु भएको छ ।

गुल्मीको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा उनी घाइते भएपछि थप उपचारका लागि काठमाडौं लौजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

धुर्कोट गाउँपालिका ३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी आफ्नो घर नजिकै हाडहाडे बर्दबास जंगलमा आगो फैलिदै आएपछि स्थानीयसंगै त्यसलाई निभाउने प्रयासमा लागेका बेला घाइते भएका थिए ।

वडा नम्बर दुई खोला पारीतिरबाट राति साँढे दश बजेको समयमा गत बिहीबार लागेको डढेलो फैलिएर वडा तीनमा खोलावारी धनबहादुरको घर छेउ आगो पुग्न लागेपछि त्यसलाई निभाउन जााँदा उनको पूरै शरीर आगोले डढेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल, वुटवलमा उपचार सम्भव नभएपछि शुक्रवार राति उपचारको लागि काठमाडौं लैजाने क्रममा शनीवार बिहान पाँच बजेतिर पूर्वी नवलपरासीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन कुमार प्रधानले बताए ।

उनले भने ‘मृतकको पोस्ट मार्टम पछि शव परिवारलाई बुझाइएको छ ।’

सोहि डढेलोमा परी सोही वडाका १३ वर्षीय बालक दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार साँढे एक बजे मृत्यु भएको थियो ।
गत तीन महिनामा मात्रै गुल्मीमा ५१ वटा आगलागीको घटनामा चार जनाले ज्यान गुमाइसकेका छन् भने पशु चौपाया र धनमालको ठूलो क्षति भएको छ ।

जिल्ला प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवीन कुमार प्रधानले गत फागुन महिनादेखि बैशाख ८ गते सम्म जिल्लाका विभिन्न ५१ स्थानमा आगलागीको घटना भएको बताए ।

‘जिल्लामा घर र गोठहरुमा १८ स्थानमा आगलागी भएको छ । त्यस्तै २३ वटा सामुदायिक वन र निजी १० वटा वनमा गरी यो तीन महिनाको अवधिमा ५१ स्थानमा आगलागीका घटना भएका छन् ।’ प्रधानले भने ।

उनले संयुक्त सुरक्षा कार्यनिती अनुसार शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनासंग मिलेर आगो नियन्त्रणमा लिने कार्य गरिरहेको बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मृतकका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने बताए ।

‘गृह मन्त्रालयले स्वीकृत गरेको मापद्दण्ड अनुसार आगलागीमा परेको व्यक्तिको परिवारले दुई लाख पाउने व्यवस्था छ । हामीले समयमै जतिसक्दो चाँडो पीडितलाई राहत वितरण गर्नुपर्ने हुन्छ ।’ पाठकले भने ।

यता, धुर्कोट गाउँपालिकाले मृतकका परिवारलाई चालिस हजारका दरले क्रिया खर्च उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले घोषणा गरिसकेका छन् ।

सुख्खा मैसमका कारण एकातिर पानी पर्न सकेको छैन् भने अर्कातिर देशैभरका जङ्गलमा डढेलो लागेकाले यतिबेला धेरै स्थानमा वायु प्रदूषण उच्च बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *