चितवन-२ उपनिर्वाचन : मतदान सुरु

डिसी नेपाल
१० वैशाख २०८० ७:४४
96
Shares

चितवन। चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ। प्रक्रियाको क्रममा कतिपयमा दुई-चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ। यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन्।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन्।

यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ।

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.