नक्कली भुटानी शरणार्थी प्रकरण : सहायक गिरोह म्याग्दीमा चार वर्षदेखि सक्रिय
गण्डकी प्रदेश सांसद जुग्जाली संलग्न रहेको आरोप
रेशमबहादुर जुग्जाली। फाइल फाेटाे।
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्चतम नेता तथा सरकारी कर्मचारीहरु तानिँदै गर्दा म्याग्दीमा अर्को सहायक गिरोह सक्रिय रहेको देखिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै स्थानीयसँग पैसा कुम्ल्याएर म्याग्दीमा ठगी गरेको घटना बाहिरिएपछि यस प्रकरणमा संलग्न अर्को सहायक गिरोहको म्याग्दीमा चार वर्ष अघिदेखि नै सक्रियता रहेको खुलासा भएको हो।
२०७६ सालमा म्याग्दीका विभिन्न स्थानबाट सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाएर ठगी गर्ने गिरोहमा माओवादीका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) को समेत संलग्नता रहेको देखिएको छ।
गण्डकीका सांसद जुग्जालीसहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमरिका पठाउने भन्दै पैसा असुल्दै ठगी गरेको स्रोतले बताएको छ। उनीहरु सबै म्याग्दीका स्थानीय रहेको पीडितहरु बताउँछन्।
यी मध्ये माओवादी नेता जुग्जाली गत मंसिर ४ को निर्वाचनमा म्याग्दी प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। तत्कालीन माओवादी नेता रामबहादुर थापा बादलको निकट रहेका उनी माओवादी विभाजनको समयमा बादलसँगै मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए।
हाल गण्डकी प्रदेशसभाका सांसद रहेका उनी यसअघि मालिका गाउँपालिका वडा नं ७ को वडाध्यक्ष रहेका थिए। सोही समयमा उनीसहित अन्य तीन जनाले म्याग्दीका स्थानीयसँग अमेरिका पठाइदिने भन्दै पैसा असुली गरेको स्रोतको दाबी छ।
उनीहरुले लिएको पैसा नदिएको र अमेरिका पनि नपठाएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्। स्थानीय युवाहरुले अमेरिका पठाइदिने भन्दै उठाएको पैसा हालसम्म नदिएको बताउँछन्।
उनीहरुले भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने भन्दै लाखौं पैसा उठाएर ठगी गरेको पीडित म्याग्दीका स्थानीय युवाहरुको आरोप छ।
तर, माओवादी नेता तथा गण्डकी प्रदेशसभा सदस्य जुग्जाली केही वर्ष अघि आफ्नोविरुद्धमा नियोजित रुपले अफवाह फैलाएको बताउँछन्। उनले चार वर्ष अघि आफूसँग प्रतिशोधपूर्ण तवरले गलत प्रचार गरिएको बताए।
उनले उक्त आरोपको प्रतिवाद गर्दै डिसी नेपालसँग भने, ‘त्यो आरोप मिथ्या हो। त्यसमा मेरो कुनै संलग्नता छैन। मसँगको व्यक्तिगत पूर्वाग्रह साँधेर गरिएको झुठो प्रचार हो।’
उनले आफ्नो संलग्नता भए चार वर्षअघिको घटना अहिलेसम्म किन कानूनी प्रक्रिया अवलम्बन नगरेको भन्दै प्रतिप्रश्न गरे।
चार वर्षअघि कसैले पूर्वाग्रहपूर्ण तवरले अनाधिकृत रुपमा सम्प्रेषित गरेको भरमा आक्षेप लगाउन नमिल्ने बताउँदै गण्डकी प्रदेशसभाका सांसद रहेका जुग्जालीले भने, ‘पीडित भए यत्रो वर्षसम्म किन उजुरी नगरेको? अहिले राष्ट्रिय स्तरमा आएको घटनासँग जोडेर हेर्नु अन्यायपूर्ण हुन्छ। यो विशुद्ध मेरोविरुद्ध चार वर्ष अघि फैलाइएको निराधार आरोप हो।’
उनले केहीवर्ष अघि व्यक्तिगत रिसिइबीले कतिपयले नियोजित रुपमा आफूविरुद्ध गलत र भ्रामक सामग्रीमार्फत प्रचारित गरिएको बताए।सांसद जुग्जालीले ठगी प्रकरणमा आफ्नो संलग्नता भए प्रमाणसहित उपस्थित हुन चुनौती दिए।







डिसी नेपाल








Facebook Comment