सिञ्जामा निर्माणका काम धमाधम

डिसी नेपाल
८ जेठ २०८० १५:०४
148
Shares

जुम्ला। जुम्लाको सिञ्जामा विकास निर्माणका काम धमाधम भइरहेका छन्। सिञ्जामा ग्रामीण सडकको काम अघि बढाइएको छ। गाउँपालिकाको प्रशासकीय भवनसमेत निर्माण भइरहेको छ।

सिञ्जाको आचार्यलिही, धिताललिही, नराकोट हुँदै कनकासुन्दरी मन्दिरसम्मको सडकका लागि अर्थ मन्त्रालयबाट रु १२ करोड प्राप्त भएको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

पालिकाको प्रशासकीय भवन निर्माण गर्न रु चार करोड पाँच लाख बजेट विनियोजन गरिएको छ। सो काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए। पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउन सार्वजनिक खरिद ऐन भित्र रही बालुवा, गिट्टी र ढुंगा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड लागू गरिएको छ।

सिञ्जाको नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरेसहितको ल्याब सेवा सञ्चालनमा आएको छ। सिञ्जा–२ मा प्रसुतिगृह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकी स्थापना गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाले जनाएको छ। सिञ्जा–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताइन्। गाउँसभाले स्वीकृत गरेका वार्षिक विकास योजना कार्यान्वयनका लागि वार्षिक कार्य सञ्चालन तालिका निर्माण गरिएको छ।

यस्तै तिला गाउँपालिकाले तीन ग्रामीण सडक निर्माणको काम अघि बढाएको छ। गाउँपालिकाका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले तिला–१ को लाटिका धानदेखी वडा नं २ लर्मी गाउँसम्म सडक निर्माणका लागि रु ५६ लाख ५९ हजार बजेट छुट्टयाइएको छ।

सिञ्जा–९ रासादेखि नदैगुफासम्म ग्रामीण सडक निर्माण गर्न रु ६३ लाख ६१ हजारको सम्झौता भएको छ। कुडारी बजारदेखी डुंगी गाउँसम्म सडक स्तरोन्नति गर्न रु ३७ लाख ठेक्का सम्झौता भएको छ। तलिचौरदेखी लासिसम्म तथा हतानबाडादेखी धोच्यासम्म तटबन्धको काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *