नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

मधुकर अधिकारी/रासस
२६ जेठ २०८० १०:२६
48
Shares

वाशिङ्टन डिसी। नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ। नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो।

बिहीबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो।

राष्ट्रसंघको वडापत्र १९४५ अनुसार छ मुख्य परिषदमा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ।

नेपाल निर्वाचित भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भने, “नेपालले मानवअधिकार परिषदमा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषदमा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। राष्ट्रसंघका परिषद्मा नेपालले निर्वाचित भएर विश्व मञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ।”

राईले भने, “म सम्पूर्ण सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। नेपालले सदस्यको रूपमा जिम्मेवारी लिएपछि विश्व सहश्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रहरूका लागि दोहा कार्ययोजनालाई कार्यान्वयनमा समन्वयकारी र महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।”

गोप्य मतदानमार्फत भएको उक्त मतदानमा एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्डलगायत छन्। तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन्।

नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिकरूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो।

यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाका बारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *