कैलाली जिल्ला कारागार भित्रै लागुऔषधको कारोबार (भिडियाे)

डिसी नेपाल
३१ जेठ २०८० १३:४४
3.1k
Shares

काठमाडौं। कैलालीस्थित जिल्ला कारागारमा लागुऔषधको सेवन, कारोवार, कुटाकुट भएको भिडियो बाहिरिएको छ।

जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको, लागुऔषध सेवन गरिएको र मदिरा बिक्री वितरण गरिएको तास खेलिएको जस्ता अनैतिक गतिविधि भएको भिडियो सार्वजनिक भएको छ।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको थियो भने उनीहरुले नै कारागारभित्रै रक्सी सेवन गरेको, तास खेलेको मदिरा सेवन गरेका थिए।

सो भिडियो सार्वजनिक भएपछि अहिले डिउटीमा खटिएका नेपाल प्रहरीका नायव प्रहरी नीरिक्षक (सइ) चरन बूढाथाकी, असई योगेन्द्र बोहराको सरुवा भैसकेको छ।

प्रहरी स्रोतका अनुसार भूपेन्द्र हत्या काण्डका कैदीहरुको कुटपीटमा परी कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए।

सो काण्डपछि केही दिन अघि १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट सरुवा गरिएको छ। उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो। तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन्।

उनीहरुले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको बताइन्छ। भुपेन्द्र बडुवाल हत्याकाण्डमा १० जना पुर्पक्षका लागि थुनामा छन्। कैलाली लम्कीका युवक बडुवालको केही वर्षअघि टीकापुरमा लखेटी-लखेटी धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

कारागार स्रोतका अनुसार, बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचन, विकास खड्कासहितको समूहले जेलर पदम तिमल्सेनालाई प्रभावमा पारेर त्यहाँ रहेका अन्य कैदीमाथि आक्रमण गर्ने र रक्सी र गाजा खाने गरेको स्रोतको दावी छ।

कारागारभित्र १०० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि १० हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँमा किनबेच हुने गरेको स्रोतले जनाएको छ। कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्।

तर नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा मोबाइल भित्र छिराइएको पनि बताइन्छ। कारागारभित्र रक्सी, चुरोट, गााँजा जस्ता अम्बलजन्य पदार्थ सेवन गर्न पाइँदैन।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले केही दिन अघि सामान्य झगडा भएको र त्यहाँका केही कैदीलाई अर्को कारागारमा सारिएको जानकारी दिए।

‘सामान्य झडप भएको रहेछ त्यहाँका केही सुरक्षाकर्मीलाई फिर्ता पठाइएको ल्याइएको छ र केही कैदीलाई सरुवा गरिएको छ’, प्रमुख जिल्ला अधिकारी कट्टेलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *