कुनै पनि जातजातिलाई फुटाएर देशलाई हित हुदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित हुदैन भन्नेमा आफु स्पष्ट रहेको बताएका छन् ।
भूमे पर्वका अवसरमा नेपाल मगर संघले शुक्रबार काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुदैन भन्नेमा आफु स्पष्ट रहेको र सरकारको यस्तो कुनै नियत नभएको बताएका हुन् ।
उनले जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा मगर लगायतका जातजातीहरुलाई फुटाउने वा टुक्राउने काम भएको गुनासो आएपछि यसलाइ सच्चाउनका लागि आफुले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए । जनजाति लगायतको बलिदानीबाटै मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि समूदायको अहित हुने गरि सरकारले काम नगर्ने जिकिर गरे ।
उनले नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए ।
त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले प्रकृतिको न्यायका लागि पूजामात्रै नभई प्रकृति संरक्षणका लागि लाग्नुपर्ने बताइन् । उनले आफ्नो स्वार्थका लागि गरिने कामले प्रकृतिलाई नोक्सान हुने गरेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिइन् ।
प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको भुमे/भूम्या पर्व असार ३ गते सम्म खुल्ला मञ्च काठमाडौमा मनाइने मगर संघले जनाएको छ । प्राकृतिक विपत्ति नआओस भूतप्रेत, ग्रहदशा जाउन्न बालीनालीमा किरा नलागोस भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन छ ।







डिसी नेपाल







Facebook Comment