त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका पाँच जना कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिइएको छ।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिन सकिने भनी दिएको राय गृह मन्त्रालय दिएको र त्यसकै आधारमा सरकारी वकिलको कार्यालयमा मुद्धा फिर्ताको चिठी पुगेको छ।
‘हो पत्र आइपुगेको छ, हामी भोलितिर यो बारे निर्णय लिन्छौ’, सरकारी वकिलको कार्यालयका प्रमुख अच्यूतमणी न्यौपानेले भने। कानुनमन्त्री धनराज गुरुङले मुद्धा फिर्ताको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। सोही आधारमा मन्त्रीपरिषद् बैठकले उनीहरु विरुद्धको मुद्धा फिर्ता गरेको हो।
२०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा थियो।
तत्कालिन महान्यायाधिवक्ता खम्मबहादुर खातीले उनीहरुको मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानूनको प्रतिकुल नहुने भनी राय दिएका थिए। अहिले भने सरकारले मुद्धा फिर्ता गर्ने निर्णय गरेको हो।
नेविसंघका आचार्य र रावलसँगै दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरविरुद्ध पनि ज्यान मार्ने उद्योगको मुद्दा छ। आक्रमणबाट उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो।
आक्रमणपछि एक महिना अस्पतालमा भर्ना भएर उपचार गरेका चलाउने अहिले पनि वैशाखी टेकेर हिँड्छन्।







डिसी नेपाल







Facebook Comment