रोपाइँ गर्ने बेला खडेरी : सुक्न थाल्यो धानको ब्याड

डिसी नेपाल
४ असार २०८० १९:५८
224
Shares

लुम्बिनी । एक महिनादेखि परेको खडेरीले किसानले रोपाइँ गर्न पाएका छैनन् । खडेरीका कारण चर्को गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् ।

मल, बीउ अभाव झेल्दै आएका किसानहरू बीउ राख्ने बेलादेखि रोपाइँ सुरु गर्ने बेलासम्म परेको लामो खडेरीले समयमा धान रोपाइँ नै प्रभावित हुनेमा चिन्तित बनेका छन् । तराईमा असार पहिलो सातादेखि रोपाइँ सुरु हुने भएकाले यतिबेला खेतमा ब्याड हरियो भइसक्ने थियो । तर समयमा वर्षा नहुँदा धानको बीउसमेत राख्न समस्या भएको किसानले बताएका छन् ।

असार सुरु हुँदासमेत पानी नपर्दा अधिकांश स्थानमा किसानहरूले बीउ राख्नसमेत पाएका छैनन । कतिपय राखिएका ब्याड पनि सुकेर सुर्ती मिच्ने जस्तै भएको रूपन्देही गैडहवा गाउँपालिका–७ का किसान आनन्दकुमार गुप्ता बताउँछन् । “रोपाइँ गर्नेबेला भयो तर धानको बीउ खेतमै सुकेर सुर्ती मिच्ने जस्तै भएको छ”, उनले भने, “मानिसले पिउने पानीको समेत हाहाकार हुनथाल्यो, रोपाइँ कसरी गर्ने ?”

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका सिँचाइको सुविधा भएका क्षेत्रमा धानको बीउ राख्ने काम सकिएको र रोपाइँको तयारी सुरु भएको छ । तर सिँचाइको सुविधा उपलब्ध नभएका जिल्लाहरूमा समयमा वर्षा नहुँदा बीउसमेत राख्न नपाएको र छरेको बीउ ब्याडमै सुक्ने अवस्था आएको छ ।

निर्देशनालयका सूचना अधिकारी, कृषि अर्थविज्ञ डिल्लीराज पौडेल लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन लाख २० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताउँछन् । यसमध्ये तराईका छ जिल्लामा मात्र ८८ प्रतिशत र बाँकी पहाडी जिल्लामा १२ प्रतिशतमा धानखेती हुने गरेको छ । प्रदेशका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा धानखेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । असारको पहिलो सातादेखि धान रोपाइँ सुरु हुने भए पनि यस वर्ष वर्षा नहुँदा रोपाइँ सुरु हुन सकेको छैन ।

लुम्बिनी प्रदेशमा धानखेती हुने क्षेत्रमध्ये ५७ दशमलव ०७ प्रतिशत भूभागमा पर्याप्त सिँचाइको व्यवस्था रहेको सूचना अधिकारी पौडेल बताउँछन् । सिँचाइको सुविधा नभएका भूभागमा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले यस वर्ष रोपाइँ ढिला सुरु हुने अवस्था रहेको उनको भनाइ छ ।

रूपन्देही तिलोत्तमाका कृषक पुरन क्षेत्री जेनतेन बोरिङको पानीले धानको ब्याड राखे पनि रोपाइँ गर्न भने आकाशको पानी कुरेर बसेको बताउँछन् । उनले असारको पहिलो साता बितिसक्दा पनि पानी नपर्दा धेरै किसानलाई निराश बनाएको बताउँछन् । “बीउ त छरियो, ब्याड जोगाउन दिनदिनै बोरिङ चलाएर पानी हाल्नुपर्छ”, उनले भनेयो, “रोपाइँ गर्न बोरिङको पानीले पुग्दैन, आकाशको पानीमा भर पर्नुपर्छ ।”

लुम्बिनी प्रदेशमा धान उत्पादन हुने मुख्य तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा गण्डक नहरको सिँचाइ हुने केही क्षेत्रमा रोपाइँ सुरु भएको तर आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा भने खडेरीले खेतीपातीमा प्रभाव पारेको कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासीका सूचना अधिकारी समिरसिंह बराइ मगर बताउँछन् । पश्चिम नवलपरासीमा २१ हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको र हालसम्ममा पाँच प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको सूचना अधिकारी मगर बताउँछन् । जिल्लामा कूल खेतियोग्य जमिनको ७० प्रतिशत भूभागमा सिँचाइको सुविधा उपलब्ध छ ।

धानखेतीमा राम्रो उत्पादन हुने जिल्ला मानिएको दाङ जिल्लामा समयमा वर्षा नहुँदा रोपाइँमा असर परेको छ । जिल्लाको कूल खेतीयोग्य ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमध्ये ३९ हजार चार सय हेक्टर क्षेत्रमा बर्सेनि धानखेती हुन्छ । तर यसवर्ष अहिलेसम्म करिब ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउँछन् ।

जिल्लामा कूल खेतीयोग्य जमिनको ३० प्रतिशत १९ हजार छ सय ८७ हेक्टर जमिनमा सिँचाइ सुविधा रहेको छ । यससँगै १९ हजार दुई सय ६१ हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा रहेको र करिब १० प्रतिशत जमिनमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी लामिछानेले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *