कविता : सुन फल्ने नेपाल
नेपाल हाम्रो सुन्दर देश विश्वमा छ राम्रो।
डाँफे र मुनाल कस्तुरी मृग हेर्दा त झन राम्रो।।
हिमाल पहाड तराई बेंसी मिलेको क्या राम्रो।
कृषिको उपज पहिलो बाली झुलेको धान राम्रो।।
धेरै छन् किसान गर्दछन् श्रम दश नङ्ग्रा खियाई।
हेर्दछन् आकास पर्छ कि पानी बादल चियाई।।
सिंचाई छैन बिउ मल भएन के गर्नु श्रम गरी।
फलेको उपज पाउँदैन बजार रुँदाछन् धरधरी।।
मनाउँछन् नेता रमाइलो गरी धान दिवस शहरमा।
नमूना कृषि प्रधान देश शब्दजाल भाषणमा।।
वास्तविक किसान पाउँदैनन् केही कमिसन जालमा।
जलश्रोतको धनी भनिन्छ नेपाल खोइ कुलो खेतमा।।
उर्जावान् युवा लाइन लागि श्रम बजार बिदेशमा।
सरकार हतार देखिन्छ दिन राहदानी हातहातमा।।
पैंतालिस डिग्री तापमा परी गरेको श्रमले।
चलेको देश रेमिट्यान्सबाट कृषिको नामले।।
नदेउ पासपोर्ट श्रम सीप देउ बनाउ उद्यमी।
नपठाउ श्रममा विदेश कतै बाँझो भो यो भूमि।।
फल्दछ यहाँ हिरा र मोती सुन पनि फल्दछ।
उर्जावान शक्ति लागेमा श्रममा पत्थर नि गल्दछ।।
उद्योग खोलौं मल बिउ दिऔं बढाऔं रोजगारी।
बगेको पानी बिजुली बाली सजाऔं घरबारी।।
पर्दैन पर्नु अर्काको भर खानलाई दालभात।
रमाउँदै बस्छन् परिवार सँगै मिलेर एकैसाथ।।
No ads found for this position


Facebook Comment