अस्ताइन् जनयुद्धकी ‘आमा’ सीता

डिसी नेपाल
२७ असार २०८० ११:५५
308
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ।अस्पताल स्रोतका अनुसार बुधबार बिहान ८ बजेर ३३ मिनेटमा उनको नर्भिक अस्पतालमा निधन भएकोे हो।

दाहाल पत्नी सीताको निधनले नेकपा (माओवादी) का नेता कार्यकर्ताहरु शोकमा छन्। प्रधानमन्त्री समेत रहेका दाहालकी श्रीमती रहेकी सीताको निधनले सिंगो माओवादी पार्टीका नेता कार्यकर्ताहरुले अभिभावकीय भूमिकाबाट विमुख हुन परेको छ।

माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी दाहाल अनेक कष्टप्रद यात्रामा पति प्रधानमन्त्री दाहाललाई साथ दिँदै आएकी थिइन्।

प्रधानमन्त्री दाहालको जोखिमपूर्ण राजनीतिक यात्रामा सदैव साथ दिँदै आएकी उनलाई माओवादीका नेता कार्यकर्ताहरुले आमा भनेरै सम्बोधन गर्ने गर्दथे।

पार्टीका नेता कार्यकर्ताहरुलाई अभिभावकीय भूमिका निर्वाह गर्ने उनको स्वभावले सबै नेता कार्यकर्ताहरुले उनलाई आमा कै उपमा दिइएको माओवादी वृत्तमा चर्चा हुने गर्दछ।

लामो समय देखि अचेत अवस्थामा

लामो समयदेखि पार्कीन्सन जस्तो गम्भीर रोगले थलिएकी उनी पछिल्लो समय अचेत अवस्थामा पुगेकी थिइन्। उनको स्वस्थ्य उपचारको लागि अनेक प्रयत्न गर्दा पनि सुधार हुन सकिरहेको थिएन।

प्रधानमन्त्री दाहालको परिवारमा एक पछि अर्को बज्रपात पर्दै गइरहेको छ। यस अघि दाहालकी छोरी ज्ञानु र छोरा प्रकाशको असामयिक निधनको पीडाले आक्रान्त बनेका दाहालले फेरि पत्नी सीतालाई गुमाउनु परेको छ।

प्रधानमन्त्री दाहालको राजनीतिक सफलतामा पत्नी दाहालको मूलभूमिका रहेको माओवादी नेताहरु बताउँछन्। उनको साथ, सहयोग र पारिवारिक व्यवस्थापनले नै दाहालले राजनीतिक यात्रालाई निरन्तरता दिँदै आजको अवस्थामा आइपुगेका हुन्।

२०११ सालमा कास्कीको तत्कालीन हेम्जा गाविसमा बुबा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिएकी सीताको २०३६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको हो। त्यसयता निरन्तर दाहालको राजनीतिक मोर्चामा अविचलित रुपमा होमिदै आइरहेकी छिन्।

२०२८ सालदेख नै राजनीतिक यात्रामा समाहित हुँदै कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन्। उनले हरेक प्रतिकुल राजनीतिक अवस्थामा पनि आफूलाई निर्भिकतापूर्वक अडिग रहन सफल भएकी थिइन्।

उनकै त्यागकै प्रतिफल स्वरुप प्रधानमन्त्री दाहालले २०५२ साल फागुन १ गतेदेखि तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्ध जस्तो जोखिमपूर्ण निर्णय लिन पुगेका थिए।

जनयुद्धको जोखिमपूर्ण अवस्थामा पार्टी भित्र हुने मतभेदलाई मत्थर पार्न समेत उनको अग्रपंत्तिमा रहेर महत्वपूर्ण भूमिका रहने गरेको थियो। उनले पार्टीमा अर्का नेता बाबुराम भट्टराईसँग दाहालको मतभेद चरमउत्कर्षमा पुग्दा मध्यमार्गी बाटो अवलम्बन गर्न पतिलाई सुझाउने गर्दथिन्।

उनकै भूमिकाले जनयुद्धकालमा विभाजनउन्मुख माओवादीलाई समन्वयकारी भूमिकाले दाहाल भट्टराई एक भएर २०६२ सालमा चुनवाङ बैठक मार्फत शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेका हुन्। यद्यपि भट्टराई २०७२ सालमा नयाँ संविधान जारी भएपछि माओवादीबाट अलग्गिए।

उनी माओवादीबाट अलग भएर नयाँ दल गठन गरेपछि पनि सीताले सदैब  एक हुन आग्रह गरेको भट्टराईले बताउँदै आएका छन्। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भएका अनेकौं विभाजन रोक्न सीताले उचित पहल गर्ने गरेको माओवादी नेताहरु बताउँछन्।

माओवादीबाट मोहन वैद्य विभाजित भएर जाँदा समेत चिन्तित बन्दै वैद्यलाई विभाजन रोक्न अनुनय विनय गरेको थिइन्। उनले जनयुद्धको जोखिमतामा सँगै रहेका नेताहरु आज सहज अवस्थामा किन विभाजित हुने भन्दै प्रश्न गर्ने गर्दथिन्।

यद्यपि उनको आग्रहलाई लत्याउँदै माओवादी विभाजन हुने क्रम रोकिएन। माओवादी पार्टीप्रति मजबुद बनाउनुपर्ने आशय उनको जीवनपर्यन्त यथावत रहेको थियो।

जीवनको उत्तरार्धमा सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य रहेकी सीताको अवशानले माओवादी धारका विभिन्न घटकहरु शोकाकुल रहेका छन्। माओवादी आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुले उनको विगतको गर्विलो भूमिकाप्रति सदैब स्मरण गरिरहने छन्।

एउटा सामान्य गृहिणी भएर पनि पार्टी र आन्दोलन प्रति उनले गरेको भूमिका सह्रानीय रहेको छ। उनको योगदानको कदर गर्दै नेपालको लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सीता दाहालको भूमिका अतुलनिय रहेको छ। उनलाई सदासर्वदा नेपाली जनताले सम्झिरहने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.