कविता

कर्मभित्र लुकेको नेपालको विकास

डिसी नेपाल
६ साउन २०८० ६:२९
168
Shares

पहिलो सूर्योदयमा नै, नेपाल झल्ल टल्किने
पहिलो हिम शिखरमा नै, नेपालै उच्च देखिने।।

विश्व भन्छ नेपालै यो, सुन्दर संसारको घर
भन्छन् यसै बेद ऋचाहरु पनि, संसारको सुन्दर।।

हिमाल झरना पहाड ठूला, तराई मैदान अनेक झुला
बगिरन्छन् अविरल ती पानी, अमृत बन्दै गहुँका ती बाला।

सुगन्ध छर्ने वनफूल धेर, नेपाल यो सुन्दर फूल हेर
बिर्साउने यो सब विश्व देश, नेपाल जस्तो कुन ठाउँ फेर।।

कर्मको गतिमा लागे, नेपाल हुन्छ उर्बर
यसैलाई बनाउनु छ, संसारको अति सुन्दर।

उठ कर्म गरे हुन्छ, यो नेपालको बिकास
बसी कर्म ठगे हुन्छ, यै नेपालको बिनास।।

आफैं उठौं अनि स्वयम्, उठ्छ यो राष्ट्र हाम्रो
सँगै बसी कर्म गरे हुन्छ, फेरि बिकास राम्रो।

कर्मैमा यश तिम्रो छ, कर्मैमा देशको भलो
कर्महीन बनी बस्दा, हुन्छ सबैमा कुभलो।।

लागौं कर्ममा लाखौँ करोडौं जनको भलो
विकास हुन्छ सबैको बसौं हामी एकै थलो।

हिजोकाले के गरे कुन्नि, नेपालको बिकासमा
अबका हामी नेपालीले, बस्नु हुन्न अभावमा।

देख्दैनन् किन देशका जनहरु, देशै गलेको पनि
सुन्दैनन् किन देशका जनहरु, राष्ट्रै रोएता पनि।।

हाम्रो सुन्दर राष्ट्रको मन फुट्यो, धेरै चिरा यो भयो
त्यस्तो शान्त र सुन्दर देश अहिले, नेपाल कस्तो भयो।

अब सुषुप्त चेतना जागौं ,उत्रौं अब बिकासमा
के भन्लिन् यो मातृभूमिले, रीस उठी हतासमा।।

हिजोले जसरी सुम्पे ,अखण्ड राष्ट्र सुन्दर
हामी पनि अघि बढौं, केही नराखी अन्तर।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *