रामेछापमा लम्पी स्किन : ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

डिसी नेपाल
१२ साउन २०८० ९:०९
64
Shares

मन्थली। रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिइन्।

दोरम्बा सैलुंग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुंगका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने,“दोरम्बा सैलुंगमा तथ्यांक संकलनको तयारी गर्दैछौँ।”

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *