कविता : साझा भावना

शान्ता सुवेदी सिटौला
१४ साउन २०८० १३:५४
900
Shares

कर तिर्ने जनताले नेता मोज गर्ने।
सम्पत्ति यो निजी ठानी सँधै भोज गर्ने।।
पद पनि आप्mनै ठानी अंशबण्डा गर्ने।
विशिष्ट ती नियुक्तिमा आप्mनै मात्र भर्ने।।

सामान्य रोग उपचारमा जान्छन् विदेशमा।
जीवनजल नि जनतालाई छैन स्वदेशमा।।
करोडौंको बिल तिर्ने खोकी लाग्दा उनको।
शरीर सबको एकै हो नि कि हो उनको सुनको।।

गतिलो एक अस्पताल छैन कुनै गाउँमा।
अस्पताल खोल्ने पैसा नेता उपचारमा।।
नेताको नि उपचार होइन विदेशमा।
सरल उपचार अब सबको स्वदेशमा।।

उपचारको कारणले नेता बद्नाममा।
कमाई भयो उपचार जाने विदेशमा।।
समाजवादमा नेता खास हुनुपर्ने होइन।
उपचार नपाई जनता रुनुपर्ने होइन।।

जाँदैन त्यो देशको पैसा देशकै विकास हुन्छ।
स्वदेशमा नै विकासको नयाँ लहर आउँछ।।
तराई पहाड मेचीदेखि पश्चिम महाकालीसम्म।
समान रुपले विकास गरौं साझा देश धान्न।।

हेप्ने छैनन् पराइले सिधा नजर गरी।
एकजुट भई लाग्नुपर्छ हामी देशै भरी।।
काँधमा काँध मिलाई बढौ अहंकार त्यागौं।
मेरो भन्ने भाव छोडी हामी भन्न लागौं।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *