लघुकथा : एक कप चिया

डिसी नेपाल
२८ साउन २०८० ११:२५
356
Shares

अफिसबाट घर आइपुगेको थिएँ। मुलढोका अगाडि टक्क अडिएँ। कारण थियो घरभित्रको अजिवको संवाद। जुत्ता खोल्नुअघि बाहिर उभिएरै एकछिन कान थापेँ।

“हावा कुन दिशामा चलेको छ त्यो पत्ता लगाउन एकदमै जरुरी छ” यो मेरी श्रीमतीको आवाज थियो। “हो हो… हावा चलेकै दिशातिर आफ्नो शक्तिलाई केन्द्रित गर्न सकियो भने आधा शक्ति मात्रै खर्च हुनेछ”

मेरी आमाको आवाज पनि प्रष्ट चिनिहालेँ।

“त्यसो हो भने तपाईंहरु दायाँबायाँ कुनाहरुमा फैलिनुहोस् म बीचको मोर्चा सम्हाल्छु। र जब हावा तेज हुनेछ। हामी एकै साथ हावाको दिशातिर अघि बढ्ने छौं।”

ठूली छोरीको आवाज झनै संकल्पित सुनियो।

अरु धैर्य धारण गर्न नसकेर ढोका खोलेर भित्र छिरेँ। बैठक कोठामा आमा,श्रीमती र ठूली छोरी हातहातमा झाडु लिएर तैनाथ थिएँ । पल्लो कुनाको सोफामा बसेर ठूलो छोरो भिडियो खिच्दै थियो।

बुझी हालेँ यहाँ सासू बुहारी र नातिनातिनीको टिकटक छायांकन चलिरहेको रहेछ। र मलाई पूरा विश्वास थियो कि यो गह्रौं गह्रौं संवाद बोल्न लगाएर झाडु लगाएको दृश्य खिच्ने उट्पट्याङ दिमाग मेरै ठूलो छोरोको हुनुपर्छ।

एक मन त रिस पनि उठेर आयो तर केही नबोली सरासर आफ्नो कोठातिर लम्किएँ । दिन यति धेरै व्यस्त भइदियो कि चिया पिउने फुर्सद समेत भएन आज। पुरै दिनभर चियाको तलतल लागिरह्यो । अब यो घरमा कोहि छ त मलाई एक कप चिया पिलाउने?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *