धार्मिक सद्भाव बिथोल्ने संविधान विपरीतका गतिविधि छानबिन गरियोस् : राप्रपा प्रवक्ता श्रेष्ठ
काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत् उनले सो माग गरेका हुन्। स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने/गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन्।
धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
यसबारे फेसबुकमा लेखेका छन् :
आफ्नो रुचिको धर्म मान्न पाइन्छ। स्वेच्छाले आफ्नो निजी मान्यता बदल्न पनि पाइन्छ तर अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने/गराउने, सामाजिक सदभाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न पाइँदैन।
संविधानले समेत यसलाई बर्जित गरेको छ। धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। त्यसमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक छन्।
यस्ता हर्कतहरु रोकिनुपर्छ, साथै धार्मिक सदभाव बिथोल्ने नियतबाट गरिएका यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्नेमा स्पष्ट छौं, नेपाल सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौं।
No ads found for this position



डिसी नेपाल
Facebook Comment