लघुकथा: गाई
चोकमा भीमकाय गाई बाँधिएको थियो।
एक हुल मानिसहरु नारा लगाइरहेका थिए “गाई हाम्री आमा हुन्। गौ हत्या गर्न पाइँदैन, पाइँदैन।”
अर्कोतिर अर्कै हुलले आवाज उठाइरहेको थियो “कसैको धर्म लाद्न पाइँदैन, पाइँदैन। गाईको मासु खान पाउनुपर्छ, पाउनु पर्छ ”
अर्कोथरी कराउँदै थियो “निरपेक्ष देशमा गौहत्या गरेकै कारण पुलिसले चाहिँ किन पक्रनु? फेरि खानेले पनि चाहिँ किन गाई नै खान खोज्नु? यस्तो अराजकता चल्दैन, चल्दैन ”
गाई खान खोज्ने र बचाउन खोज्नेहरुबीच धेरै दिनसम्म झडप चलिरह्यो। कसैले बिचरा गाईलाई ध्यानसम्म दिएनन्। गाई भोकले फनफनी घुम्दै बाँ बाँ कराइरह्यो। गाईको हालत निकै नाजुक भैसकेको थियो।
अन्त्यमा एक मुठा कलकलाउँदो हरियो घाँस बोकेर एउटा रक्स्याहा कतैबाट हल्लिँदै हल्लिँदै दृश्यमा देखा पर्याे। गाईलाई उक्त घाँस खान दियो र सबैतिर फर्किएर ठूलो स्वरमा चिच्यायो- “तिमीहरुको धर्म र आस्था, तिमीहरुको राष्ट्रिय प्रतीक,तिमीहरुको आहार हुनु भन्दा पहिले गाई एउटा प्राणी हो, जनावर हो। गाईले बाँच्नलाई घाँस खानुपर्छ। एक मुठा घाँस दिन नसक्ने नाथेहरुको यत्रो हल्लीखल्ली?”
झगडालुहरु जिल्ल परेर हेरिरहे।
No ads found for this position




Facebook Comment