कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ भएको छ।
अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ। पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ हुने भएकाे हाे।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको एमाले कोशी प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।







डिसी नेपाल








Facebook Comment