कविता : छैन सम्झेर बाबालाई नरोएको कुनै दिन

ईश्वर अर्याल
२५ भदौ २०८० १४:५९
776
Shares

बाउआमा कि परी थिइन् हिजोसम्म तिनै छोरी
अन्मिएको भोलिपल्ट कल्ले भन्ने कठैबरी
आखामा आशु भरिन्छ, सम्झेर माइती दिनदिन
छैन सम्झेर बाबालाई नरोएको कुनै दिन

झिसमिसेमै ढिकी जाँतो, मेला पात जानै पर्‍याे
भोको पेट मध्यान्नीमा चिसो भात खानै पर्‍याे
तिज तिहार माइत जान आउनै छाडो भाइ लिन
छैन सम्झेर बाबालाई नरोएको कुनै दिन

ख्वाक्क खोक्छिन् सासुले तातोपानी दिनै पर्‍याे
गोठभरी बस्तुभाउ कुँडो पानी गर्ने पर्‍याे
काम धेरै थोरै हात बनायो कसले किन
छैन सम्झेर बाबालाई नरोएको कुनै दिन

छोरा छोरी बस्तुभाउ ससुराको पिर उता
फुत्त उठ्यो बाटो लाग्यो स्वामीज्यू त कताहो कता
यी सारा दुख देखेर बुझ्दैनन् घरमा किन
छैन सम्झेर बाबालाई नरोएको कुनै दिन

गोठतिर हेर्नै पर्‍याे बाँ बाँ बाच्छो कराउँछ
साँझपख कान्छो छोरा बाबादेखि डराउँछ
झर्को मान्नु हुन्न फेरि साँझ मुख जोडिनदिन
छैन सम्झेर बाबालाई नरोएको कुनै दिन
छैन सम्झेर आमालाई नरोएको कुनै दिन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *