कविता : मेरो देश

डा. तुलसी उप्रेती
२० असोज २०८० ६:३६
528
Shares

घुमी घुमी खोजि रहेछु म जन्मेको देश
धरापमा परेछ पुर्खाले आर्ज्येको देश
किन काँतर बन्यो बिर बलभद्र लडेको देश
कता हराउदैछ सधैं स्वाधीन रहेको मेरो देश ?

खुम्चिएछन् हिमाल-उजाडिएछन् गाउँ घर तराई
कुन दुष्टको जाल हो यो हामीलाई बनाउने पराई
दिनका दिन हराउँदै छ गोर्खालीको पहिचान
कुन कुन निष्ठुरी मिलेर गिरायो हाम्रो स्वाभिमान?

एक एक गरि बेचिँदैछन् हाम्रा संस्कार र संस्कृतिहरु
भत्काइँदैछन् अनि मासिँदैछन् अमूल्य मठ मन्दिरहरु
कस्ता पापीहरुले लगाए यो देशको हातमा जन्जिरहरु
कठै ! छन् यो देशमा सत्ताधारी, कुलंगारी र धन्धुकारीहरु

घुमी घुमी खोजी रहेछु मेरो देश
कता हराउँदैछ सधैं स्वाधीन रहेको मेरो देश ?

देशको अवस्था देखेर टाडैबाट पीडाका आँशु बगायौ
ती खसेका ताता आँशुले हामीलाई पनि रुवायौ
विदेशको कमाइले हाम्रो पेट पाल्न त सघायौ
तर यो देशलाई भने कसरि असफल बनायौं ?

सनट्टा पार्दै लागेछन् चन्द्र-सूर्य ग्रहण यो देशमा
यस्तै बेला बैरीले लिन्छन सक्दो फाइदा घुम्दै छम्द भेषमा
त्यसैले- देश भक्तिको ज्वालालाई दिलोज्यान दिएर जगाऊ
आफ्नो राष्टको खातिर कसै सँग नडराऊ
बिलाउनु भन्दा पहिले अबिलम्ब नगरी यो देश बचाऊ

घुमी घुमी खोजी रहेछु मेरो देश
कहाँ गयो सधैं स्वाधीन रहेको देश ?

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *