कविता : जंगली अवतार
तिमीले देशलाई जंगल बनायौ
र वितण्डा मच्चायौ!
कानूनलाई वनमारा झारमा रुपान्तरण गरेर
तिमीले अपराधको पहाड चढ्यौ
र देशमा हाँसो निकै महंगाे बन्यो
क्रन्दन निकै सस्तो भयो!
केही मानिसलाई असुर बनायौ
र वस्तीलाई पशुशाला सम्झिएर
सनकमा शासन गर्न थाल्यौ!
कुनै सम्भ्रान्त व्याधाले
उड्दै गरेको चरालाई भुइँमा खसाले जस्तो
हिड्दाहिड्दैको श्रीमान् ढालिदियौ
दु:खसँग लड्दै गरेको छोरो मारिदियौ
विद्यालय जाँदै गरेकी छोरी बलात्कारसँगै हत्या गरेर
जून तारा भयभीत हुने गरी
अट्टहास गरिरहेका छौ!
हामी वियोगका आँसुमा मूच्र्छित हुँदा
तिमी प्रजातन्त्र र स्वतन्त्रताको शङ्खनाद गर्दै
हाम्रा आँसुको होली खेल्दै
झन्झन् उपद्रव गरिरहेका छौ!
तिमीलाई ज्ञान हुनु पर्छ
दाम्लोमा बाँधिएको पशुलाई मात्रै मार्न सजिलो हुन्छ
दाम्लोविहीन पशुको जीवनसँग ठट्टा गर्नु
मृत्युसँग जिस्किनु पनि हो!
यतिबेला तिम्रा अपराध विरुद्ध
मैले आफूलाई पशु बनाउनु पर्ने भएको छ!
स्वतन्त्रताको अनुहार
र विधिको इज्जत जोगाउन
तिम्रो जंगली अवतारको अवसानका लागि
म हिंस्रक पशु बन्ने पूर्ण तयारीमा छु!
मैले आक्रमण गर्नुपूर्व
देशलाई जंगलबाट मुक्त गरेर
तिमीले मान्छे बन्ने ?
कि
सम्भ्यतालाई जंगली बनाएर मृत्यु रोज्ने ?
निर्णय तिम्रो हातमा छ!
(भारती मानन्धरको न्यायका पक्षमा । उदण्ड/अपराधी सरकारका विरुद्धमा ।)
No ads found for this position


Facebook Comment