टि–२० अन्तर्राष्ट्रियमा एउटा पनि छक्का नहानी ४२७ रन बनाएर सर्वाधिक स्कोरको विश्वरेकर्ड

डिसी नेपाल
२७ असोज २०८० ११:५६
1.4k
Shares

काठमाडौं । टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोरको नयाँ किर्तिमान बनेको छ । अर्जेन्टिनाको महिला क्रिकेट टोलीले चिलीविरुद्धको खेलमा ४२७ रन बनाएर नयाँ किर्तिमान बनाएको हो । सबैभन्दा रोचक कुरा त के भने यति विशाल स्कोर बनाउँदा अर्जेन्टिनाका खेलाडीले एउटा पनि छक्का हानेनन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको अर्जेन्टिनाको महिला टोलीले निर्धारित २० ओभरको खेलमा १ विकेटको क्षतिमा ४२७ रन बनाएको हो । अर्जेन्टिनाको लागि ओपनर लुसिया ८४ बलमा १६९ रन बनाइन् । उनले कूल २७ चौका हानिन् ।

यस्तै अर्की ओपनर अल्बर्टिना गलानले ८४ बलमा नटआउट १४५ रन बनाइन् । उनले कूल २३ चौका हानिन् । मारिया क्यास्टिनेरासले नटआउट १६ बलमा नटआउट ४० रन बनाइन् । उनले ७ चौका हानिन् ।

टि–२० खेलमा वैधानिक बल १२० मात्र हुने भए पनि चिलीका खेलाडीहरुले यति धेरै नो बल फाले कि अर्जेन्टिनाका खेलाडीले वैधानिक १२० बल बाहेक अरु थुप्रै बल खेल्न पाए । उनीहरुले धेरै नो बलमा स्कोर गरेका थिए ।

चिलीका खेलाडीले ६४ नो बल फालेका थिए । यीमध्ये एक बलरले १ ओभरमै १७ वटा नो बल फालेकी थिइन् । यसबाहेक ८ वाइड बल र एक लेग बाइ गरी कूल ७३ एक्स्ट्रा रन दिएका थिए ।

जवाफी ब्याटिङमा चिलीका खेलाडीले १५ ओभरमा ६३ रन बनाउँदा अलआउट भए । चिलीका लागि जेसिका मिरान्डाले २७ रन बनाइन् । उनीबाहेक अरु कसैले पनि दोहोरो अंकमा स्कोर गर्न सकेनन् । अर्जेन्टिनाका बलरले पनि २६ वटा वाइड बल फालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.