कविता : वडादशैंको शुभकामना
उहिले उहिले पाखाको पिपलबोटमा
सबैले मिलेर हालेको लिङ्गे पिङमा
साथीभाइ मिलेर चचहुईँ चचहुईँ गर्दै
गाँउभरि हल्लाखल्ला गरेर बोलाएको
बडादशैं पो गज्जब मज्जाको हुन्थ्यो।
अहिले अहिले गाँउहरू सुनसान छन्
गाँउका मिलन चौतारीहरू एक्लै अनि
सुनसानमा आफ्नै बिलौनामा बिरहको
आशुहरूमा खुशीको दशैहरू खोज्दै
बिरहको सन्देशहरू गाएको सुनिन्छ।
कसले सुनिदिने खुशीका पुराना अध्याय
सबका सब मदमस्त छन् एकांकी पलहरुमा
कोही कता बिदेशीएका छन् कोही कता
कसैलाई फुर्सद छैन अनि समय छैन
सबैलाई फेसबुकको अनोठौ चौतारीमा
देखासिकीको नयाँ होडबाजी बनेको छ।
अबको चाँड चिट्टिक्क चौतारीमा फेरि
गाँउको भाका बनेर गीत लिएर आओस्
अस्तिको अलिनो सम्बन्धमा गोडमेल गर्दै
मिलन र गाँउको लिङ्गो पिङमा पुरानो
भाका र प्रेमको भाषा लिएर आओस्
यस्तो दशैं फेरि फेरि पनि आओस्।
सबै पीडाहरू भूलाउन सक्ने गरी
दैविकपूर्ण शक्ति भएर दशैं आओस्
सबैमा अपनत्वको भावना लिएर
समानताको सन्देशहरू बोकेर
यस पटकको दशै देश बिदेशमा
नेपाली बन्ने जोश बनेर आओस्
सबैमा वडादशैंको शुभकामना।
No ads found for this position


Facebook Comment