काभ्रेमा आजदेखि टिपर सञ्चालनमा रोक

डिसी नेपाल
२ कार्तिक २०८० ८:४७
492
Shares

काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ। चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।

कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

जिल्ला समन्वय समितिका पदाधिकारी तथा बागमती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकाले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका दुई राजमार्ग अरनिको र वीपीमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो।

यस्तै बैठकले दुर्घटना बढ्दै गएको जनाउँदै बैठकले टपर तथा सार्वजनिक सवारी साधनका चालकका लागि सचेतना कक्षासमेत सञ्चालन गर्ने निर्णय गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोज महिनामा २५ सवारीसाधन दुर्घटनामध्ये छ वटा टिपरका कारण भएका थिए। दुर्घटनामा सात जनाको ज्यान गएकामा तीन जनाले टिपरको कारण ज्यान गुमाएका थिए।

दुर्घटना बढेपछि एक वर्षदेखि टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाइएको थियो। दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा-खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी साधन चल्ने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *