कथा : धड्किएको मुटु

खेमराज पोखरेल
२ मंसिर २०८० ६:३६
28
Shares

उसले अघोषित घरेलु यौनालयकी एउटी अधबैंसे महिलालाई पाँचओटा हजारिया खटखटी गनिदियो। र कक्षभित्र पस्यो। केही समयपछि बाहिर निस्क्यो। पसिनै पसिना भएको थियो। त्यहाँ पसिना पनि पुछेन। सटासट सडकमा आइ पुग्यो। सँगै गएको साथीलाई पनि पर्खेन। ट्याक्सी लियो र हरायो।

०००००००

ऊ धनी थियो। पढेको थियो। सुन्दर थियो। आदर्शवान् थियो। नैतिकवान् थियो। आज्ञाकारी थियो। थियो, थियो र थियो। स्कुल वा कलेजमा उसको ‘एफेयर’ चल्नै पाएन। उसका साथीहरु बेला बेलामा रत्नपार्कको रेलिङ समाउन पुग्थे। तर ऊ गएन। जीवनमा कहिल्यै गएन।

खोइ किन गएन? के उसलाई कुर्कुरे बैँस आएन? कारण पारिवारिक संस्कार र आफ्नै जीवनप्रतिको दृष्टिकोण थियो होला। उसको बिहे गर्ने उमेर त यसै पनि भएको थियो उसै पनि भएको थियो। बिहेका कुराले उसको शरीरमा झन्झनाहट हुन थालेको थियो। आनन्द महसुस हुन्थ्यो।

एउटा सुख, नभोगेको सुख। जसलाई भोग्ने मान्छे भन्थे अलौकिक आनन्द। सम्भोगमा समाधिको आनन्द। उसले आफ्नो अति मन मिल्ने विवाहित साथीलाई भन्योः ‘अब त बिहे गर्नै पर्ने भयो। पथच्युत भइएला भन्ने पिर भइ सक्यो’

उसको साथीले जवाफ दियोः ‘हो यार एकपल्ट चिप्लियो भने फेरि फेरि चिप्लिन मन लाग्ने रोग हो यो। तँ बिहे गरिहाल्’।

उसको बिहे गर्न निकै समय लाग्यो। छनौटमा। आखिर एकपल्ट गर्ने न हो जीवनमा। बाबु धनी खोज्ने। आमा सुन्दरी खोज्ने। ऊ पढेकी र सौम्य खोज्ने। हजुरबुबा र हजुरआमा खान्दानी खोज्ने। घरलाई स्वर्ग बनाउने खालकी।

अनि कुल मिलाएर धनी, राम्री, सुशील, कुलीन, धार्मिक विचारकी, पढेकी, खान्दानी, स्वभाव भएकी, दुर्मुखा नभएकी, धेरै टिङरिङे पनि होइन, पुड्की पनि होइन, मोटी पनि होइन, धेरै खलपत्रै गोरी पनि होइन, काली त झन् हुँदै होइन, हाँस्ता गालामा दुई खोपिल्टा पर्ने, ब्युटी बोन भएकी।

चरित्र पहिलो प्राथमिकता त हुने नै भयो। धेरै वर्ष छानेर उसले अब्बल बिहे गर्‍यो। अब्बल याने भूतो न भविष्यति। उसकी आमा रुपमा, बाबु दाइजोमा, ऊ सौम्यमा, र मान्छे सुन्दरताको चटाइमा मख्ख थिए। भए। ऊ उनीमा हराउन चाहन्थ्यो, हतार हतार पोखिन चाहन्थ्यो। चाह उम्लिएको थियो। दिलखुस मिठाई जस्तै दिलखुस थियो। छिमेकी भन्थेः ‘क्या चिज ल्यायो हौ यो नरेशले’।

०००००००

ऊ उदास छ। ऊ अचेल हाँस्ता कृत्रिम हाँस्छ। नियमित अफिस जान्छ। फरासिलो छैन। साथीहरुले उसलाई सुहागरातको प्रसङ्ग झिकेर जिस्क्याउँछन्। ऊ हाँस्छ मात्र।

अफिसबाट घर आएको छ। बिहेको रौनक घरमा सकिएको छैन। ठुलो साँझ । बुइगलमा निस्केर परपर देखिने निलो आकाश हेर्छ। पत्रैपत्र देखिने लुकामारी गरिरहेका बादलहरुलाई हेर्छ। वाइह्यात छन् यी आकाश र बादलहरु। यो आकाश किन निलो भएको होला?

किन यो बादल पत्रैपत्रमा लुकामारी गर्छ होला? परको घरको छतमा एउटा मान्छे चुरोटको सर्को तान्छ र यसरी फाल्छ कि त्यो धुवाँ हावामा गोलाकार आकृति बनाउँदै विलीन हुन्छ। उसलाई त्यो दृश्य रमाइलो लाग्छ। ऊ हेरि रहन्छ।

त्यस मान्छेले फेरि चुरोट सल्काएको छ र त्यसैगरी धुवाँलाई हावामा खेलाउँछ। सायद डाक्टरले चुरोट नखानू भनेको होला। त्यो मान्छेलाई मृत्युबोध भएको होला।

र ऊ सायद इच्छित वस्तु उपभोग गरिहाल्न चाहन्छ होला। उसलाई लाग्छ मान्छेहरु पनि यही धुवाँको गोलाकार आकृतिलाई रुपमा सत्य ठान्छन् र सारमा त्यो हावामा बिलाउँछ।

ऊ बसेको बुइँगलबाट बैठकको हल्ला खल्ला सबै सुनिन्छ। पाहुनाहरु भनिरहेका छन्ः

‘नरेश बाबु कति भाग्यमानी। रुप र सौन्दर्यले सुशील अर्धाङ्गिनी पाउनु भएको छ’

‘आखिर खान्दान पनि त केही हो । ‘दाइजो पनि कस्तो दामी । अहा यस्तो पो खान्दान त’

‘ल हेर त कस्ती लच्छिनकी, कस्तो मिलाएर सारी लगाएको ? टाउकोमा सप्को नछोड्ने’

‘त्यति मात्र हो र भात भान्सामा कस्तो परख रहेछ । सबै कुरा चट्टचुट्ट । यस्ती बुहारी त भाग्यले मात्र पाइन्छ । हेर त त्यो मतान घरे साइँलोको छोरो के, अधिकृत भएको छ नि, त्यसकी बुढी कस्ती टिमुर्किएकी । मान्छेलाई मान्छे नै गन्दिन । बुढोलाई कज्याएकी छ है चोथालेले’

कुरा सुनेर उसलाई रिस उठ्यो । यिनलाई अर्काको खोजिनिती कति चाहिएको ? तर चुप लाग्यो । ऊ बैठक कोठामा पस्यो । सबै पाहुनाको क्षेम कुशल सोध्यो । उसकी श्रीमती आइन् । सबैलाई अदबका साथ ढोग गरिन् । सबै दङ्ग । चिया चमेनाको जुठ्यान टेबुलभरि छरिएको थियो ।

०००००००

सुहाग रात । ऊ कोठाभित्र पसेको थियो । कोठा खालि थियो । एकैछिनमा उसकी श्रीमती आइन् । उसले ढोका लगायो । डिम लाइट बाल्यो । कोठा सेक्सी देखियो । उसले श्रीमतीलाई एकोहोरो हेरेको थियो । अहा कति राम्री ? नीलकमलको फुल जस्ती । जस्तो खोजेको थियो त्यस्तै रुपवती । श्रीमतीको घुम्टो खोल्यो । उनी लजाइन्।

उसले भन्योः
‘तिमीलाई बेहुली भएको कस्तो सुहाएको ?’

‘हुम्’

‘किन नबेलेकी सानू ?’

‘के बोल्नू र ?’

‘आज हाम्रो सुहागरात हो’
‘………’
‘यो रात वैवाहिक जीवनको पहिलो रात हो’
‘………..’
उसले अँगालो हाल्यो । श्रीमती बल्ल बोलिन्ः ‘हजुर, एउटा कुरा भन्छु मानिस्योस् है त’

‘हुन्छ । आजको दिन तिमी जे माग्छ्यौ दिन्छु’

‘आज मेरो व्रत छ । म चोखी छु । नबिटुल्याउनू है’

‘ल हुन्छ । तिमी त्यसो भन्छ्यौ भने’

०००००००

एक छोरा र छोरी छन् उनीहरुका । बुहारी एकदम असल भन्ने चर्चा छ गाउँभरि, सहरभरि । परबाट आउँदै गरेकी श्रीमतीलाई उसले हेरिरह्यो । निधारभरि लत्पतिएको विभिन्न रङको टीका । स्वामी जगतानन्दको प्रवचन नबिराइ सुन्छिन् उनी । जतिबेला पनि सप्को टाउकोमा ।

खाँडीको टोपीलाई सुन्दर गुएँलाको फुलजस्तो । सम्पत्ति भनेपछि हुरूक्कै हुन्छिन् उनी । ऊ उनलाई मनमनै लकर लभर ठान्छ । उनको दिनचर्या भनेको प्रवचन सुन्नु, व्रत बस्नु, तीर्थ गर्नु, भजन गाउनु । के यसलाई उसले खराब भनोस् ? लोकले पत्याउला ? ।

उसले श्रीमतीलाई भनेकै होः ‘बिहेको उपादेयता सम्भोग हो सानू’

उनले भनेकी थिइन्ः ‘सम्भोगको तात्पर्य सन्तान उत्पादन मात्र हो, हेर्नुहोस् त मान्छेबाहेक अन्य प्राणी । के तिनीहरुका सम्भोगको तात्पर्य सन्तान प्राप्ति मात्र होइन ? हामी मान्छे किन अबुझ भएका ?’

उसले भनेको थियोः ‘सुख, शान्ति र जीवन यौन हो सानू’

उनले भनेकी थिइन्ः ‘यो कृत्य अश्लिल हो । पाप हो । विषयबन्धन हो । यो परित्यक्त हो’

‘तिम्रो यो विचारले जीवन नर्क हुन्छ सानू’

‘हजुरलाई थाहा छ ? बिहे किन कुनै साइनो नपर्ने मान्छेसँग हुन्छ ? किनकि सन्तान प्राप्तिपछि उसको केही काम छैन । ऊ तेज्य हो । परम् सत्य भनेको गुरूको वाणी मात्र हो । गुरू वाणी नै मुक्तिको मार्ग हो’

‘त्यस्तो होइन सानू । यौनको आविष्कार भगवान्ले नै गरेका हुन् । यसको कारण सन्तान प्राप्ति मात्र होइन, सुखको आल्हादित संगम हो । यौन नै यस्तो कडी हो जसले चराचर जगत्को चुरोलाई जोड्छ’

‘हजुरमा अज्ञानता व्याप्त छ । बिनागुरू सत्सङ्गले यो कुरा बुझिँदैन’

‘होइन सानू , श्रीमतीले आफ्नो लोग्नेसँग ओछ्यानमा पुगेपछि प्रज्वल बन्नुपर्छ। यस्तो वन्नु पर्छ जोसँग गाँठवाला ग्राहक छ। र सन्तुष्ट बनाउनु धर्म हो। यसो भयो भने त्यो गाँठवाला मान्छे अघोषित नोकर बन्न तयार हुन्छ । भन्नुको तात्पर्य लोग्ने र स्वास्नीले एक अर्कालाई यौन सन्तुष्ट पार्नु कर्तव्य हो, जैविक मात्र होइन ईश्वरीय आवश्यकता पनि हो’

उनले अलिकति रिसाएको जस्तो गरेर भनिन्ः ‘मलाई यौनमा प्रज्वल बन्नु छैन । कसैलाई नोकर बनाउनु पनि छैन। सन्तुष्ट पार्नु पनि छैन। म परमार्थमा लागेरै सन्तुष्ट भएकी छु। म परमार्थतर्फ उन्मुख भएकी छु। मेरो यात्रालाई व्यवधान नगर्नुहोस्। मैले हजुरका सन्तान जन्माइ दिएर लोक धर्म निर्वाह गरिसकेकी छु , मेरो वरत्र सप्रिसकेको छ र अब परत्र सपार्न उद्दत छु’

ठ्याक्कै एक महिना भयो दुवै जोई पोइ नबोलेका । मान्छे आए ऊ श्रीमतीलाई भन्छ ‘सानू, चियाको व्यवस्था गर है’

श्रीमती कृत्रिम खुसीले भन्छिन्ः ‘हवस्, त्यति पनि हजुरले मर्जी हुनुपर्छ र ? गरिहाल्छु नि’

मान्छे हिँड्छन् । बोलचाल बन्द । कसैलाई थाहा छैन कि उनीहरु यसरी दिन बिताइ रहेका छन् । तड्पिरहेका छन् । अभिशप्त बाँचिरहेका छन्। मरिरहेका छन् । के मर्न श्वास जानैपर्छ र ? के बाँचेको बोधका लागि नाटक देखाउनै पर्छ र ? खोइ यो नाटक नै जीवन हो कि !

०००००

खली साथीले सुनायोः ‘गाईले दूध नदिएर के भो त ? तँ जस्तो पैसावाललाई सहराँ गाई कति कति ? दूध कति कति ?’

ऊ साथीसँग जीवनमा पहिलोपल्ट दूध किन्न निस्क्यो ।

उसले सुन्दरीलाई हेर्‍यो । राम्री । राम्रीभन्दा पनि कृत्रिम शृङ्गार पेटार ।

उसले सोध्योः ‘नानी तिमी किन यो पेसा गछ्र्यौ ?’

‘अनि के गर्नुहुन्छ यो सब जानेर ? के किताब लेख्नुहुन्छ ?’ सुन्दरीले प्रश्न पो सोधी ।

‘होइन, त्यसै’ उसले जवाफ फर्कायो ।

‘संसारमा बिनाकारण कुनै घटना पनि घटेको छैन । सृष्टि पनि भएको छैन । तपाईँ यहाँ आउनु भएको पनि कारण छ र मैले यो दोकान थापेको पनि कारण छ, लजिक छ । यी सबै घटनाहरु कारणका परिणति हुन्’

‘तिम्रो नाम के हो ? घर कहाँ हो ?’

‘मैले सक्कली नाम र ठेगाना बताए पनि तपाईँ पत्याउनु हुन्न । अनि यो प्रश्नको औचित्य ?’

‘म बाध्यतामा यहाँ आएको हुँ र तिम्रो पनि बाध्यता जान्न खोजेको’

‘यसरी बुझ्नुस् न, कि कुनै पनि आमा आफ्नी छोरीलाई स्वेच्छाले यौनकर्मी बनाउन चाहन्न । चाहँदै चाहन्न । मैले स्नातक पास गरेकी छु । तर परिस्थितिले उही आमा आफ्नी स्नातक छोरीको यौनकर्मको टिकट काटेर काउन्टरमा बस्छे । बाहिर काउन्टरमा बसेकी मेरी आमा हुन्’
‘अहो कठोर सत्य’

‘अझ तपाईँ कल्पना गर्नुस् कि …………….. जे मनमा आउँछ कल्पना गर्नुस् । र यो तपाईँले किनेको समय हो खेर नफाल्नहोस्’
‘खोइ, ममा किन उत्तेजना आइरहेको छैन ? किन म त्यसै त्यसै पग्लिँदै छु ? किन म ग्लानि बोध गर्दै छु ?’

‘मैले बुझिसकेँ कि तपाईँ पहिलोपल्ट हो। सुरुमा यस्तै हुन्छ । पहिलोपल्ट आउने यसै गर्छन् । जीवनमा हरेक पहिलो यस्तै नौलो, अनौठो र कौतूहलयुक्त हुन्छ । पीडादायी पनि हुन्छ। सोच्नुस् तपाईँको जन्म, स्कुल, कलेज, बिहे, सुहागरात सबै नौला थिएनन् त ? केवल तपार्इँ पहिलो मात्र सम्झनुस् र पोजिटिभ्ली सम्झनुस् सुन्दर देख्नुहुन्छ र यदि निगेटिभ्ली सोच्नुभयो भने पीडादायी । तर तपाईँ चिन्तै नगर्नुहोस् । यो सुरक्षित र बिनारिस्कको ठाउँ हो, यो श्रीमतीका आडम्बरले अभिशप्त भोका लोग्नेहरुको उपचार कक्ष हो । के गर्ने हामी मान्छेलाई समयले चौराहमा ल्याएर फालिदिन्छ’

‘हेर्नुस् त सुन्दरी, मेरो मुटु किन यसरी हल्लिरहेको छ ? के म गलत गर्दै छु ?’

‘संसारमा परफेक्ट्ली के गलत ? के साँचो ? मान्छेलाई गलत लागे गलत र साँचो लागे साँचो न हो । र पनि सरल रुपमा लिनुस्, सरल रुपमा बुझ्नुस् कि यसले तपाईँलाई पारिवारिक सुख दिन्छ । आखिर संसारमा लोग्नेमान्छे र स्वास्नीमान्छे बिचमा गरिने क्रियाकलाप न हो यो । सरल रुपमा लिनुभयो भने यो सरल प्रक्रिया हो । र मान्छेले यसलाई जटिल बनाएर दुःख पाइरहेका छन्’

‘होइन, सुन्दरी म यो कार्यमा असमर्थ बन्दै गएको छु । मेरो उत्तेजनाको डिग्री स्वात्त झरिसकेको छ’

‘चिन्ता नगर्नुस्, मसँग औषधी पनि छ’

सुन्दरीमा जीवन बाँच्नका लागि अभिशप्त बाध्यता देख्यो उसले । त्यहाँ खोइ यौन सुख ? खोइ स्वाभाविकता ?

सुन्दरीको प्रचुर प्रयत्नका बाबजुद ऊ असफल भएको छ । सुन्दरीले उसलाई भनेकी छिन्ः ‘फेरि आउनुस्, दिमाग सफा पारेर आउनुस् । यो पाप होइन । यो त्याज्य पनि होइन । बरू यो मानव मुक्तिको एउटा चरमोत्कर्ष हो’ ।

०००००

उसको ट्याक्सी सेक्सोलोजिस्ट डाक्टर सुमार्गीको हँसमुख क्लिनिकमा पुगेर रोकियो । लाम लामै थियो । उसलाई डर थियो कि कोही चिनेकाले देख्ने हुन् कि ? तर संयोग कसैले चिनेन । पैसा तिरेर टिकट काट्यो । केही समयपछि पालो आयो । ढोकाको चेपबाट श्वेत वस्त्र धारी नर्सले बोलाइन्ः

‘विवेकानन्द’

ऊ भित्र पस्यो । उसले आफैँलाई सोध्योः ‘के म विवेकानन्द हुँ ?’

उसले मनसँग भन्योः ‘आज नरेश र विवेकानन्द दुवैको मृत्यु भयो’

डाक्टरले सोध्न थाले । उसले हतार हतार भन्योः

‘डाक्टर साहेब, म बिग्रेँ । म सढेँ । म बरबाद भएँ । म मतिभ्रष्ट भएँ । कृपा गरेर मलाई उत्तेजना नआउने औषधी दिनुहोस्’
डाक्टर सुमार्गीले उसलाई हेरिरहे चुपचाप ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *