‘कालो चस्मा लाउ है मैया’ नयाँ संस्करणमा सार्वजनिक
काठमाडौँ। चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ। नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन्। उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन्।
सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत सिर्जना गरेका छन्। निर्देशक श्रेष्ठले पुराना लोकप्रिय गीतलाई नयाँ पुस्तासम्म ल्याउन रीमेक गरिएको बताए। ‘मेरो चलचित्रमा प्रेम कथा भएकाले गीत सुहाउँदो पाएँ। लोकप्रिय गीतलाई चलचित्रको माध्यमले नयाँ पुस्तासम्म ल्याउने प्रयास गरेको हुँ’, निर्देशक श्रेष्ठले भने।
यसै चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन्। ‘बाल्यकालमा उक्त गीतमा धेरै पटक नृत्य गरें। अहिले अभिनय यात्राको सुरुआतमा पनि यही गीतमा प्रस्तुत हुने मौका पाएँ, निकै खुसी छु’, अभिनेत्री बुढाथोकीले भनिन्। उनले स्कुलमा उक्त गीतमा नृत्य गरेको स्मरण गरिन्।
सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो। गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन्।
पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन्। निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए।
‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु। अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाइएको छ’, निर्देशक श्रेष्ठले भने।
रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।
यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।
यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment