काठमाडौं महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह
काठमाडौं। काठमाडौं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ।
यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन्।
स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ। कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन। कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरु गरेको विभागले जनाएको छ।
विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment