व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
३० मंसिर २०८० १५:५२
20
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ संकल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे।

प्रधानमन्त्रीले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक रहेकाे बताए।

“अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्”, उनले भने, “लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन्। त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ।”

ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।”

प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवद्र्वन गर्नु सबैको दायित्व भएको बताए। नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे।

उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे।

कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.