नयाँ कलाकार भए पनि काममा परिपक्क छन् : निर्माता राजाराम बुढाथोकी

डिसी नेपाल
१५ पुष २०८० १३:१२
84
Shares

काठमाडाैं। केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो फिल्म निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर फिल्म निर्माण गरेका छन्।

उनले निर्माण गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदै छ। यही फिल्ममार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन्। ‘पर्खी बसें झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार भित्र्याएका छन्।

कमेडी र एक्सन फिल्मको सङ्ख्या बढिरहँदा निर्माता बुढाथोकीले प्रेम कथानकलाई दर्शकमाझ ल्याउनु उपयुक्त रहेकाले सोही योजनाअनुरुप फिल्म निर्माण गरेको बताए। ‘कलाकार नयाँ भए पनि अभिनय हेर्दा वा प्रचारप्रसार सामग्री हेर्दा सबैले राम्रो भन्नु भएको छ। केही वर्ष आगाडि यहीँ नामबाट निर्देशक श्रेष्ठले डेब्यु गराउनु भएका कलाकारहरू स्थापित हुनुभयो। हामीले पनि सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौँ’, निर्माता बुढाथोकीले भने। उनले नयाँ प्रतिभालाई अवसर दिनु मेकरको दायित्व रहेको समेत बताए । पहिलो फिल्म भए पनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन्।

उनले निर्देशक श्रेष्ठलाई राम्रो फिल्म बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको बताए। सिक्किम र नेपालको काठमाडौँ, ललितपुर, कालिन्चोकलगायतका रमणीय दृश्य छायांकन गरिएको फिल्मले आँखालाई शितलता दिने उनको भनाइ छ । ‘हामीले विशुद्ध प्रेम कथा लिएर आएका छौं। अहिलेका पुस्ताको प्रेम, विछोड तर बेदनालाई देखाइएको छ। यसको पात्रसँग युवाले धेरै नै रिलेट गर्नु हुन्छ भन्ने लागेको छ’, निर्माता बुढाथोकीले भने।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रिमेक गरिएको छ। फिल्म ‘बादलपारि’ मा समावेश लोकप्रिय गीतको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ। गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन्।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।

फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *