‘दाई’ र ‘बहिनी’ माथि अवाञ्छित आक्रमण

डिसी नेपाल
१ साउन २०७६ १२:२७

काठमाडौं । पछिल्लो समय दुई शब्द निकै चर्चामा छन्– बहिनी र दाई। एक महिला पत्रकारले ‘दाई’ बनेर बहिनीमाथि कुदृष्टि राख्ने पुरुषहरुको धन्ज्जी उडाइन्। अर्का पुरुष पत्रकारले ‘बहिनी’ बनेर आफ्नै शरीरको बदलामा लाभ लिन चाहने ‘महिलाहरु’को अर्को पाटो देखाए। यी दुवैले भोगेका घटना सत्य नै होलान् किनकि यस्ता घटना हाम्रो समाजमा भइरहेका छन्।

यस्ता प्रकृतिका घटना भोग्ने यी दुई मात्रै होइनन् हामी पनि हौं। हामीसँग पनि यस्ता घटना भएका छन्। उनीहरुले भोगेका ‘दाई’ र ‘बहिनी’हरुले जे गरे त्यो गलत हो तर दाजु बहिनीको पवित्र सम्बन्ध र त्यो सम्बन्धको लागि दिइएको नामलाई नै प्रदूषित गराउनु पनि सही मान्न सकिँदैन ।

हाम्रो नेपाली भाषामा केही शब्दहरु छन् जसको वास्तविक अर्थ निकै सम्मानित हुन्छ । मानिलिउँ ‘नेता’ । देशकै राजनैतिक नेतृत्व गर्ने यो शब्दलाई निकै सम्मानित मानिनुपर्ने हो तर राजनीति गर्ने केही सीमित व्यक्तिहरुका कारण युवाहरुले नेता भन्नासाथ नाक खुम्च्याउँछन्। दलाली गर्नु भनेको क्रेता र बिक्रेताबीच मध्यस्थता गर्नु हो। यो त व्यवसाय हो।

तर, दलाली गर्नेहरुले यस्ता काम गरिदिए कि आज दलाली गर्नेहरु नै आफूलाई ‘दलाल’ भनाउन रुचाउँदैनन्। ‘पञ्चायत’ भनेको गाउँमा न्याय निसाफ गर्नको लागि सबै गाउँलेले चुनेको निकाय हो। तर, नेपालमा पञ्चायती शासनकालमा जे भयो त्यसका कारण नेपालमा पञ्चायतलाई पनि राम्रो मानिँदैन।

आज ‘दाई’ र ‘बहिनी’ जस्ता पवित्र शब्दहरु ‘बलात्कृत’ हुनु परिरहेको छ। ती न ‘दाई’ हुन् न ‘बहिनी’, ती त समाजका कलंक हुन्। यस्ता कलंकले आफ्नो औकात देखाइसकेपछि पनि उनीहरुलाई ‘दाइ’ र ‘बहिनी’कै सम्बोधन गर्नुपर्ने?

भनाइको तात्पर्य यत्ति हो भोलिका दिनमा ‘दाई’ र ‘बहिनी’को सम्बन्ध सुन्नासाथ नाक खुम्च्याउनु नपरोस्, घृणाको नगरले हेर्नु नपरोस् । कुनै पुरुषले महिलालाई बहिनीको सम्बोधन गर्दा ती महिला तर्सनु नपरोस्। कुनै महिलाले पुरुषलाई दाइको सम्बोधन गर्दा त्यो पुरुषले महिलालाई ‘सर्टकटमा फाइदा लिन आएकी बहिनी’ भन्ने ठानेर नाक नखुम्च्याओस् वा ‘मौकामा चौका’ हान्न लालायित नबनोस्।

शब्दको गरिमा रहेमा मात्र भाषाको गरिमा रहन्छ। सम्बोधन गरिने शब्दको गरिमा रहेमा सम्बन्धको गरिमा रहन्छ। अन्यथा पवित्र सम्बन्धको सम्बोधन सुन्दा नै घृणाले नाक खुम्च्याउनुपर्ने स्थिति आउनेछ।

हाम्रो समाजको एउटा वास्तविकता के हो भने महिलाहरुले कुनै पनि पुरुषसँग पहिलो पटक भेट्दा धेरैजसो दाई नै भनेर सम्बोधन गर्छन्। यसको मुख्य कारण हो – झट्ट सम्बोधन गर्न सजिलो। तर, कारण यतिमात्र होइन ।

महिलाहरु यो सम्बोधनबाट आफूलाई सुरक्षित राख्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरुलाई थाहा छ दाजुबहिनीको सम्बन्ध पवित्र हुन्छ। यही पवित्र सम्बन्धको सम्मान गर्दै त्यो पुरुषले आफूमाथि कुदृष्टि नलगाहोस् भन्ने उनीहरुको चाहना हुन्छ । तर, उनीहरुको यो चाहना पुरुषहरुले बुझेका हुन्छन्।

अर्कोतर्फ सुरुमा पवित्र सम्बन्धको सम्बोधन गरेका केही महिला पछि गएर लाभ लिनकै लागि आफैंले त्यो सम्बन्धको मर्यादा नाघ्न तयार हुन्छन्। यो पनि पुरुषहरुलाई थाहा छ। त्यसैले त पुरुषहरु मौका पायो कि फाइदा उठाउन लालायित हुन्छन्। तर यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने सबै महिला मर्यादा नाघेर लाभको लागि दाइलाई आफ्नो शरीर सुम्पन तयार हुँदैनन्। सबै पुरुषले पनि बहिनीबाट शारीरिक सुख चाँदैनन्।

यस्तो चाहनेहरु सीमित छन्। तर, तिनै सीमित व्यक्तिका कारण आज ‘दाई’ र ‘बहिनी’ जस्ता पवित्र शब्दहरु ‘बलात्कृत’ हुनु परिरहेको छ। ती न ‘दाई’ हुन् न ‘बहिनी’, ती त समाजका कलंक हुन्। यस्ता कलंकले आफ्नो औकात देखाइसकेपछि पनि उनीहरुलाई ‘दाइ’ र ‘बहिनी’कै सम्बोधन गर्नुपर्नेरु पश्चिमा देशमा कसैले कसैलाई यस्तो सम्बोधन गर्दैनन्।

त्यहाँ नाम नै भनेर बोलाउने प्रचलन छ। हामीले पनि महिलालाई ‘म्याडम’, पुरुषलाई ‘सर’ वा नामको पछाडि ‘जी’ लगाएर सम्बोधन गर्न सक्छौं। दाजुबहिनीको पवित्र सम्बन्ध गाँसेझैं गरेर लाभ लिन चाहनेका कारण यो शब्दलाई अपवित्र हुन नदिउँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *