भूकम्पपछि मरुभूमी जस्तै सुख्खा बनेको रानीपोखरीमा यसरी जमाइँदैछ पानी (फोटोफिचर)

डिसी नेपाल
१५ साउन २०७६ १३:२५

काठमाडौं। राजधानीको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानी पोखरीको पुनः निर्माण भइरहेको छ। यसअघि विभिन्न विवादका कारण केही समयसम्म पोखरीको पुनः निर्माण हुन सकेको थिएन। अहिले पहिलो चरण अन्तर्गत पोखरीमा पानी जमाउनका लागि कालोमाटो बिच्छ्याउने र छेउछेउमा पर्खाल लगाउने काम भइरहेको छ।

रानी पोखरी पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितका अनुसार पहिलो चरणको काम आउँदो तिहारसम्म सम्पन्न हुनेछ। काठमाडौं महानगरपालिको सिफारिसमा यो समितिको गठन गरिएको थियो। पोखरीमा पानी जमाउन मेसिनले पेलेर ल्याइएको कालोमाटो प्रयोग भइरहेको छ।

अध्यक्ष स्थापितका अनुसार पानी चुहिन्छ कि भनेर कालोमाटोको दुई किसिमबाट परिक्षण गरिएको थियो। एउटा मानिसले नै मुछेर तयार पारिएको माटो र अर्को मेसिनले पेलेर तयार पारिएको माटो। उनले भने, ‘दुवै परिक्षण सफल भएको थियो तर मानिसले पेलेर बनाएको माटोका लागि समय धेरै लाग्ने र बढी खर्चालु हुने हुँदा मेसिनको प्रयोगबाट तयार पारिएको कालोमाटो प्रयोग गरिरहेका छौं।’

पुरानै शैलीमा पुनः निर्माण भइरहेको पहिलो चरणको काम सकिन करिब साढे ९ करोड खर्च लाग्ने उनले जानकारी दिए। अहिलेसम्म पहिलो किस्ता अनुसार करिब ९४ लाख रुपैया प्राप्त भएको उनले बताए। त्यहाँ प्रयोग गरिएको कालोमाटो उपत्यकाको विभिन्न स्थानबाट ल्याउने काम भइरहेको छ। माटो बिच्छ्याउनका लागि भक्तपुरका महिला दिदीबहिनीहरुलाई जिम्मा दिइएको छ। महिलारपुरुष गरेर करिब ६० जना कामदार अहिले सो कार्यमा लागिरहेको अध्यक्ष स्थापितले जनाए। उनीहरु दैनिक भक्तपुरबाट यहाँ आउने गर्छन्।

 

 

अझै सुरु भएन बालगोपाल मन्दिर पुनः निर्माण
अध्यक्ष अजय स्थापितले बताएअनुसार पोखरीको बीचमा रहेको मन्दिर र पर्खालको पुनः निर्माण समयमै सुरु नहुँदा पहिलो चरणको काम प्रभावित भएको छ।

केही ठाउँमा काम थाति राख्नु परेको उनले बताए। तर यता पुनर्निर्माण प्राधिकरणका सह–सचिव राजुमान मानन्धरले उक्त मन्दिर र पर्खालको पुनः निर्माण दुई/तीन हप्तामै सुरु हुने बताएका छन्।

उनले हिजो (सोमबार) मात्रै ठेकेदार कम्पनीसँग सम्झौता भएको र केहीदिनमै उनीहरुले निरिक्षण गरेर काम थालनी गरिने जानकारी दिए। पहिलो चरणको कामलाई कुनै असर नपर्ने गरी दुवैसँग समन्वय गरेर अघि बढ्ने उनले बताए। सुरुमा रानी पोखरी पुनः निर्माणका लागि काठमाडौं महानगरपालिकाले जिम्मा पाएपनि विभिन्न कारण विवादमा तानिएपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई यसको जिम्मा दिइएका हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *