‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ।
चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो।अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि जग्गाको नापजाँच गरिएको छ।
उनले भने, “ सर्भे सकेर चीन सरकारलाई ड्राफ्ट पठाएका छौँ, अब परियोजना अघि बढ्छ ।”
एघार करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकहरूसँग यस विषयमा छलफल गरिएको उनले बताए। अर्बुद रोग (क्यान्सर)का कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्न यो काम गर्न लागिएको हो।
बोनम्यारो फेर्न नेपालबाट मासिक १०–१२ जना भारत जाने गरेको उहाँले बताउनुभयो । युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने उनको विश्वास छ। निर्माण सुरु गरेको दुई वर्षमा काम सम्पन्न गरेर सेवा सुरु गर्ने योजनामा अस्पताल रहेको छ।
बोनम्यारो ट्रान्सप्लान्ट युनिट अस्पतालले जग्गा उपलब्ध गराएर चिनियाँ सरकारको लगानीमा निर्माण गरिने उनले बताए। भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमसम्मका काममा चीन सरकारले सहयोग गर्नेगरी काम अघि बढाइएको कार्यकारी निर्देशक पौडेलले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment