कविता : के छैन नेपालमा

बालकुमारी घिमिरे गजलिका
२७ फागुन २०८० १०:२९
224
Shares

फुल्छन् फूल सयौँ थरी वनवनै पार्छन् स्वयम् उज्ज्वल
बाली झुल्दछ फाँटको नगरमा खेल्दै बयेली तल
हेर्दै छिन् हिमशैलबाट सगरी रम्दै स्वयम् नीलिमा
छन् छाँगा छहरा तलाउ गहिरा के छैन नेपालमा

हात्ती छन् वनमा र बाघ चितुवा, छन् नील गाई अनि
चौँरी चर्दछ लेकका चउरमा हो घाँस मेरै भनी
भाका हाल्दछ कोइली अति मिठो छाँगाहरू तालमा
भेटिन्छन् सब थोक
यो मुलुकमा के छैन नेपालमा

पाइन्छन् वन औषधि पनि यहाँ हुन्छन् निकै ती जडी
सारा रोग निको हुनेछ सहजै चिन्दा तिनैको कडी
यार्सा हुन्छ यहाँ र सिस्नु असुरो बोझो चिसो खालमा
भेटिन्छन् अमला शिलाजित यहीँ के छैन नेपालमा

भाषा भेष कला र संस्कृतिहरू छन् विश्वकै सुन्दर
गुम्बा,मस्जिद,चर्च,देवल
हरू छन् गाउँ राम्रा घर
नाना जाति र धर्म पर्व पनि छन् यो स्वर्गको पालमा
गाढा प्रेम छ एक आपस यहाँ के छैन नेपालमा

आँखा खुल्दछ पूर्वको क्षितिजले आभा जगाई कन
घुम्टोबाट चिहाउँदै शिशिरले टल्काउँछन् चन्दन
लर्किन्छन् लतिका बडो गजवले सुस्ताउँदै आडमा
झ्याम्मै मात चढाउने विपिन छन् के छैन नेपालमा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *