गजल : छोरा तिमी आउँदैनौ र?
छोरा तिमी आउँदैनौं र?
दशैंका टीका जमरा सकिसके
तिहारका सयपत्री र मखमली ओइलासइसके
देउसे र भैलेले गीत गाइसके
छोरा तिमी आउँदैनौ र?
बाको दौराको फेर फाटिसक्यो
आँखाको आँसु पनि सुकिसके
बाको बोली भास्सिसक्यो
बाले आँखा चिम्लिसके
छोरा तिमी अझै पनि आउँदैनौ र?
पारि वनमा न्याउली रुँदैछ
कोइलीले तिमी कहाँ छौ भन्दैछ
पाखापखेराले तिमीलाई खोज्दैछ
घरको छानाले तिमीलाई चिहाउँदैछ
छोरा तिमी अझै पनि आउँदैनौ र?
लालीगुराँस तिम्रो स्वागतमा कुरिरहेकोछ
सेतो हिमाल तिमीलाई जिस्क्याइरहे छ
भञ्ज्याङको लाँकुरी सुसेला हाली डाक्दैछ
चौतारीको वर पिपल तिमीलाई कुर्दैछ
डाँडापाखा हरियालीले तिम्रो नाम भाक्दैछ
छोरा तिमी अझै पनि आउँदैनौ र?
प्रिय छोरा, अब तिमी आइदेउ
तिम्रो आमाका आँखा थाकिसके
दिन, महिना, वर्ष गर्दै वर्षैं बितिसके
मेरो पनि उमेरले नेटो काटिसक्यो
प्राण पखेरुले मेरो साथ छोड्न आँटिसक्यो
अन्तिम पटक तिम्रो मुख हेर्ने इच्छा छ
मनको धोको मेट्ने इच्छा छ
तिमीलाई मरो माया लाग्दैन र?
मेरो याद आउँदैन र?
मेरो छोरा तिमी आइदेउ
No ads found for this position


Facebook Comment